इटहरी/ नेपाली फिल्म जगतमा ‘कुसुमे रुमाल’, ‘चिनो’ र ‘दर्पण छायाँ’ जस्ता कालजयी फिल्म दिएका दिग्गज निर्देशक तुलसी घिमिरे फेरि एकपटक दर्शकको मन छुन आएका छन् । तर यसपटक उनको कथा केवल रोमान्समा मात्र सीमित छैन, यसपटक उनले उठान गरेका छन् वर्तमान नेपालको सबैभन्दा ज्वलन्त र दुख्ने घाउ- युवाविहीन हुँदै गइरहेको रित्तो पहाडहरूको कथा ।
नयाँ वर्षको शुभ अवसर अर्थात् वैशाख १ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘पहाड’को हालै सार्वजनिक ट्रेलरले नेपाली समाजको यही तीतो यथार्थलाई पर्दामा ल्याउने संकेत गरेको छ । सार्वजनिक ट्रेलरले नेपालको पहाडी भेगको मनमोहक प्राकृतिक सुन्दरतालाई देखाउँदै गर्दा त्यहाँ लुकेको चरम बेरोजगारी, खानेपानीको हाहाकार र युवा पलायनको कारुणिक अवस्थालाई पनि प्रस्तुत गरेको छ । हेर्नुस् ट्रेलर ।
“पहाड सुन्दर ठाउँ हो, तर हामीले त्यही सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गइरहेको पहाडको कथालाई चित्रण गरेका छौँ,” निर्देशक तथा लेखक घिमिरे भन्छन् । उनका अनुसार, यो कथा एउटा पहाडी गाउँको परिवेशमा बुनिएको भए पनि यसले सिङ्गो देशकै वर्तमान अवस्थाको प्रतिनिधित्व गर्छ । धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यतालाई नजिकबाट देखाउँदै ‘सहरभन्दा गाउँ नै उपयुक्त छ’ भन्ने गम्भीर सन्देश फिल्मले बोकेको छ ।
‘पहाड’लाई नेपाली फिल्मका पारखीहरूका लागि एउटा विशेष ‘ट्रिट’ मान्न सकिन्छ । निर्देशक घिमिरेले आफ्नो पुरानो हिट फिल्म ‘बलिदान’का मदनकृष्ण श्रेष्ठ तथा ब्लकबस्टर ‘चिनो’का शिव श्रेष्ठ र स्वर्गीय सुनिल थापालाई यसै फिल्म मार्फत फेरि एकै ठाउँमा ल्याएका छन् । दिग्गज कलाकारहरूको यो उपस्थितिले फिल्मलाई झनै प्रतीक्षित बनाएको छ । यी अग्रज अनुहारहरूसँगै वर्तमान समयका सशक्त अभिनेताहरू विपिन कार्की र रविन्द्र सिंह बानियाँको जोडीले फिल्मलाई थप बलियो बनाएको छ ।
@parikalanewsofficial
साथमा रेनुनाथ योगी, उमा गिरी र अरुण क्षेत्रीको जीवन्त अभिनय यसमा देख्न सकिन्छ । यो फिल्म घिमिरे परिवारका लागि पनि कोसेढुंगा सावित हुँदैछ । ‘पहाड’ मार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीको रूपमा ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यसका साथै, प्राविधिक तर्फ पर्दा पछाडि जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनर जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी छिन् । भाग्यरत्न फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा प्राविधिक पक्ष पनि निकै अब्बल रहेको छ ।
फिल्ममा जादुमयी संगीत भर्ने काम दिग्गज संगीतकार रञ्जित सिंह गजमेरले गरेका छन्, जसको संगीत घिमिरेका अधिकांश सफल फिल्मको मेरुदण्ड रहँदै आएको छ । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा प्रमोद प्रधानको छायांकन रहेको छ । फिल्मका निर्माताहरूमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी रहेका छन् भने क्रिएटिभ निर्मातामा भारती घिमिरे रहेका छन् । पहाडलाई शंकर कोइराला र भारती घिमिरेले सम्पादन गरेका छन् भने कोरियोग्राफी कविराज गहतराज र मिङमा डी लेप्चा र एक्सन कुमार महर्जनको रहेको छ । मनोरञ्जनको लेपनमा सामाजिक यथार्थको गहिरो सन्देश बोकेको र नेपाली फिल्मका सुनौला युगका हस्तीहरूलाई एकै पर्दामा समेटेको ‘पहाड’ले नयाँ वर्षमा दर्शकलाई हलसम्म तान्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।














Discussion about this post