इटहरी/ नेपाली फिल्म क्षेत्रका लागि एक ऐतिहासिक सफलता हात परेको छ । निर्देशक अविनाश विक्रम शाहको पहिलो फिचर फिल्म ‘एलिफेन्ट्स इन द फग’ विश्वकै प्रतिष्ठित कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको छ । मुख्य प्रतिस्पर्धापछि सबैभन्दा महत्त्वपूर्ण मानिने यस विधामा नेपाली फिल्म पर्न सफल भएको यो नै पहिलो पटक हो ।
विशेषगरी युवा निर्देशक र फरक धारका कथावाचकहरूलाई स्थान दिइने यस विधामा छनोट भएसँगै ‘एलिफेन्ट्स इन द फग’ले अब उत्कृष्ट फिल्मतर्फको ‘अन सर्टेन रिगार्ड प्राइज’, ‘उत्कृष्ट निर्देशक’ र ‘स्पेसल जुरी प्राइज’का लागि प्रतिस्पर्धा गर्नेछ । यसअघि सन् २०२२ मा आफ्नो लघु फिल्म ‘लोरी’ लिएर कान्स पुगेका निर्देशक शाहले त्यतिबेलै फिचर फिल्म लिएर फर्कने अठोट गरेका थिए । आफ्नो डेब्यु फिचर फिल्मबाटै उक्त सपना साकार हुँदा उनी निकै हर्षित छन् ।

करिब पाँच वर्षको मिहिनेतपछि तयार भएको यस फिल्मको निर्माण यात्रालाई उनले ‘रोलरकोस्टर’को संज्ञा दिएका छन् । कान्समै मेन्टरसिप प्राप्त गरेको यस फिल्मले हात्तीको आक्रमणबाट त्रसित एक बस्तीको कथा बोल्छ । फिल्मको केन्द्रमा आमा र छोरीको भावनात्मक सम्बन्धलाई उतारिएको छ, जुन परिवारले यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दछ ।
@parikalanewsofficial
यस फिल्मको प्रमुख विशेषता भनेकै अल्पसंख्यक समुदायकै कलाकारहरूलाई मुख्य भूमिकामा प्रस्तुत गर्नु हो । उनीहरूका साथमा फिल्ममा गौरी मल्ल, शान्ति गिरी, माओत्से गुरुङ, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।














Discussion about this post