इटहरी/ लोकप्रिय गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’ को रूपमा चित्रण गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । सोमबार बिहान फेसबुकमा एक आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै उनले उक्त आरोप वास्तविकतामा आधारित नरहेको स्पष्ट पार्दै नेपाल सरकारसँग सो निर्णयमा पुनर्विचार गर्न माग गरेका हुन् ।
वि.सं. २०८२ साल भदौ २३ गते भएको ‘जेन–जी आन्दोलन’ को क्रममा सामाजिक सञ्जालमा फैलिएको एक अफवाहलाई लिएर सोधिएको प्रश्नलाई आधार मानेर आफूमाथि आरोप लगाइएको परियारको भनाइ छ । आन्दोलनको भोलिपल्ट अर्थात् भदौ २४ गते सामाजिक सञ्जालमा “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने हल्ला तीव्र रूपमा फैलिएको थियो । सोही विषयको सत्यतथ्य बुझ्ने उद्देश्यले गायक परियारले आफ्नो फेसबुकमा लेखेका थिए, “हिजो बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो ?”
गायक परियारका अनुसार उक्त पोस्ट कुनै दाबी वा भ्रम फैलाउने उद्देश्यले नभई, नागरिकको सही सूचना पाउने मौलिक हक प्रयोग गर्दै गरिएको एउटा जिज्ञासामूलक प्रश्न मात्र थियो । आफ्ना शुभचिन्तक र फलोअरहरूबाट उक्त खबर झुटो भएको जानकारी पाएलगत्तै उनले सो पोस्ट हटाएका थिए । आफूले सत्यतथ्य बुझेर पोस्ट हटाए पनि भदौ २६ गतेदेखि केही अनलाइन सञ्चारमाध्यम र फेसबुक पेजहरूले पूर्वाग्रही ढंगले आफूलाई ‘भ्रम फैलाउने व्यक्ति’ को रूपमा चित्रण गरेको उनले बताएका छन् ।
@parikalanewsofficial
तिनै भ्रामक र एकतर्फी समाचारलाई आधार मानेर गौरीबहादुर कार्की आयोगले प्रतिवेदनमा आफ्नो नाम समावेश गरेको भन्दै उनले गहिरो दुःख व्यक्त गरेका छन् । आयोगको यस निष्कर्षले आफ्नो संवैधानिक अधिकार, व्यक्तिगत प्रतिष्ठा र वर्षौंदेखि कमाएको सांगीतिक छविमा गम्भीर नकारात्मक असर पारेको गायक परियारले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“भ्रामक समाचार र सूचनाका आधारमा निकालिएको निष्कर्षमा पुनर्विचार गरी ममाथि पर्न गएको अन्यायको पुनर्मूल्याङ्कन गरियोस्,” परियारले सरकारसँग अनुरोध गर्दै भनेका छन्, “हामी सबैको आशाको केन्द्र बनेको राज्यले ममाथि अन्याय हुन दिने छैन भन्ने विश्वास लिएको छु ।”
उनले आवश्यक परेमा राज्यलाई पूर्ण रूपमा सहयोग गर्न आफू सदैव तत्पर रहेको पनि बताएका छन् । आफ्नो दाबीलाई पुष्टि गर्न उनले तत्कालीन समयमा राखेको स्ट्याटसको स्क्रिनसट समेत प्रमाणस्वरूप सार्वजनिक गरेका छन् । अन्त्यमा, उनले आफ्ना दर्शक तथा श्रोताहरूप्रति जिम्मेवार रहँदै सांगीतिक क्षेत्रमा निरन्तर सकारात्मक योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै आम नागरिकलाई भ्रामक सूचनाप्रति सजग रहन पनि हार्दिक आग्रह गरेका छन् ।














Discussion about this post