इटहरी/ नेपाली फिल्म उद्योगमा अर्को नयाँ कथा बोकेको फिल्म निर्माण हुने भएको छ । आर.डी.एस. नेपालको प्रस्तुति रहने नेपाली कथानक फिल्म “टेम्के” को एक विशेष कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यमा मुहूर्त समारोह सम्पन्न भएको हो । अध्यक्ष डीसीले धार्मिक विधिअनुसार नरिवल फोडेर र क्ल्याप इन गर्दै फिल्म युनिटलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यससँगै फिल्मको निर्माण प्रक्रिया विधिवत रूपमा अगाडि बढेको छ । यस फिल्मको नेतृत्व देवप्रसाद धिमालले गर्दैछन् । उनी फिल्मका निर्देशकका साथै मुख्य निर्माता पनि हुन् । निर्माण टिममा सह–निर्माताको रूपमा पंकज सरदार जोडिएका छन् भने भोला सुवेदी ‘प्रणप’, राजनजंग थापा र जित शेरचनले कार्यकारी निर्माताको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । प्राविधिक पक्षतर्फ, फिल्मको सह–निर्देशन विजयराज भुर्तेलले गर्नेछन् ।
@parikalanewsofficial
एक्सन प्रेमी दर्शकका लागि राजु किरातले द्वन्द्व निर्देशन गर्नेछन् भने फिल्मका दृश्यहरूलाई नरेश ऐयरले आफ्नो क्यामरामा कैद गर्ने निर्माण पक्षले जनाएको छ । फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गज अभिनेता शिव श्रेष्ठको विशेष अभिनय रहनेछ । उनीसँगै अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायतका कलाकारहरूले पर्दामा जीवन्त अभिनय पस्कनेछन् ।

नेपाली समाजको यथार्थ कथावस्तुलाई आकर्षक र रोचक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको यस फिल्मको मुख्य छायाङ्कन काठमाडौं र सुन्दर पहाडी जिल्ला भोजपुरका विभिन्न रमणीय स्थानहरूमा गरिनेछ । निर्माण टिमका अनुसार आगामी चैत महिनाको दोस्रो साताबाट छायाङ्कनको काम धमाधम सुरु हुने तयारी छ । शुभमुहूर्त समारोहमा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, चर्चित गीतकार शंकर अधिकारी ‘घायल’ लगायत थुप्रै चलचित्रकर्मी र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।












Discussion about this post