इटहरी/ हलमा दर्शकको मन जित्न सफल फिल्म ‘एक भागवत र एक गीता’ युट्युवमा रिलिज भएको छ । लामो समयदेखि यसको युट्युब रिलिजको पर्खाइमा रहेका दर्शकहरूको पर्खाइ अन्तत सकिएको छ । ओएसआर मुभिज मार्फत सार्वजनिक भएको जम्मा दुई दिनमै यस फिल्मले १३ लाखभन्दा बढी भ्युजको आँकडा पार गर्दै दर्शकको राम्रो साथ पाईरहेको छ ।
झरना थापाको निर्देशन तथा सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मले युट्युबमा आफ्नो बलियो उपस्थिति जनाएको बुझ्न सकिन्छ । हलमा प्रदर्शन हुँदा समीक्षात्मक रूपमा रुचाइएको यो फिल्म अहिले युट्युब दर्शकको पनि रोजाइमा परेको छ । फिल्ममा अभिनेता विपिन कार्कीले निर्वाह गरेको ‘कमलामाई’ (तेस्रोलिङ्गी) को भूमिकालाई दर्शकले युट्युबको कमेन्ट बक्समा सर्वोत्कृष्ट भन्दै तारिफ गरिरहेका छन् ।

उनको चुनौतीपूर्ण र जीवन्त अभिनय नै फिल्मको मुख्य आकर्षण बनेको छ । सुहाना थापा र धिरज मगरको अनस्क्रिन जोडी र उनीहरूबीचको प्रेम कथाले युवा पुस्ताको ध्यान तानेको छ । जनकपुरको सेटिङ, त्यहाँको संस्कृति, बोलीको लवज र रहनसहनलाई पर्दामा निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । झरना थापा ले लेखेको कथालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगरको अलावा जेभिस एण्ड जेभिन श्रेष्ठ, कबीर खड्का, संजोग रसाइली, अनुराग कुँवर, रेयर राई, आयुष्मान ठाकुर, धीरज ठाकुर लगायतका काकाहारहरुको अभिनय रहेको छ । सुरुवाती चरणमा नामको विषयलाई लिएर विवादमा तानिएको यो फिल्म पछि सेन्सर बोर्ड र सरोकारवालाको सहमतिमा ‘एक भागवत र एक गीता’ नाममा हलमा रिलिज भएको थियो ।

















Discussion about this post