इटहरी/ अभिनेत्री गरिमा शर्माले आफ्नो जीवनमै पहिलो पटक मतदान गरेकी छन् । आफ्नो पहिलो मतदानको अनुभव र त्यसले मनमा उब्जाएका भावनालाई उनले सामाजिक सञ्जालमार्फत एक मार्मिक कविताको स्वरूपमा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालको पोस्टमा उनले ‘लेखौ भविस्य आफ्नो आफैले, हाम्रो परिवारको भोट कस्लाइ होला ? भोट हाल्नु भयो त ?’ भन्दै आफ्ना प्रशंसकहरूलाई प्रश्न गर्दै #MyFirstVote ह्यासट्याग प्रयोग गरेकी छन् ।
युवा पुस्ताको मनोविज्ञान र साझा सपनाको प्रतिनिधित्व
गरिमाको यो कविताले आम नेपाली युवा पुस्ताको वर्तमान मनोविज्ञानलाई सटीक रूपमा प्रतिनिधित्व गरेको छ । एकातिर देशको अवस्था परिर्वतन हुने आशा छ भने अर्कोतिर विगतका नेताहरूको रवैयाले उब्जाएको अविश्वास र डर पनि छ । उनले मतदान गरेपछि औंलामा लागेको नीलो मसीलाई केवल दाग मात्र नभई ‘भविष्यको बीउ’, ‘जिम्मेवारीको चिनो’ र ‘देशप्रतिको कसम’ को संज्ञा दिएर युवाको गहिरो राजनीतिक चेतनालाई उजागर गरेकी छन् ।

@parikalanewsofficial
त्यस्तै, देशमा बढ्दो भ्रष्टाचार र युवा पलायन जस्ता गम्भीर मुद्दाहरूलाई उनले सरल तर शक्तिशाली शब्दमा प्रस्तुत गरेकी छन् । ‘युवाले विदेश होइन आफ्नै माटो रोज्ने देश’ भन्ने उनको हरफले स्वदेशमै भविष्य खोजिरहेका लाखौं नेपाली युवाको साझा सपना बोलेको छ । राजनीतिप्रति निराशा बढिरहेको वर्तमान समयमा उनको यो कविताले युवाहरूलाई आफ्नो मताधिकारप्रति सचेत र जिम्मेवार बन्न पनि प्रेरित गरेको देखिन्छ । सामाजिक सञ्जालमा अभिनेत्री शर्माले लेखेको कविता जस्ताको तस्तै:
मेरो औंलामा लागेको यो निलो मसी
साधारण दाग होइन ,
मेरो जिम्मेवारीको चिनो हो,
मेरो आवाज, मेरो अस्तित्व,
मेरो देशप्रतिको पहिलो कसम हो |
जब म मतदान केन्द्र पुगेँ,
लाइनमा उभिँदा
मनमा हजारौँ प्रश्नहरू थिए,
डर लाग्थ्यो…
कतै गलत हातमा देश नपरोस्,
कतै मेरो पहिलो भोट
भोलिको पश्चाताप नबनोस्।
तर फेरि सम्झिए भोलिका हाम्रा सन्तान को
सुनौलो भविष्य र स्वतन्त्र सपना…
मेरो आजको निर्णयमै त निर्भर छ।
केही अनुहारमा देखिन्थ्यो आशा,
केही भाषणमा परिवर्तनको वाचा,
मनले भन्थ्यो,
“सायद यिनैले देश बनाउनेछन्।”
तर भित्र कतै सानो डर पनि,
“यदि यी पनि उस्तै भए भने?
यदि फेरि विश्वास टुट्यो भने?”
त्यसैले मेरो भोट
केवल कागजमा छाप होइन,
यो त प्रार्थना हो,
यो त विश्वास हो,
यो त भविष्यको बीउ हो।
म चाहन्छु—
भ्रष्टाचारभन्दा माथि उठेको देश,
युवाले विदेश होइन, आफ्नै माटो रोज्ने देश,
आमाको अनुहारमा ढुक्क मुस्कान भएको देश।
आज मैले पहिलो पटक भोट हाल्दा
आँखामा आशा थियो,
मनमा डर थियो,
तर छातीमा साहस थियो !
मेरो पहिलो भोट
मेरो सपना हो,
मेरो संघर्ष हो,
मेरो भोलि हो।
र म चाहन्छु—
यो कहिल्यै पछुतो नबनोस्,
बरु
मेरो पुस्तादेखि मेरा सन्तानसम्म
गर्वको कथा बनोस्।
















Discussion about this post