इटहरी/ समाजले सधैं फरक नजरले हेर्ने यौनकर्मीका वेदना, संघर्ष र उनीहरूको जीवनको अँध्यारो पाटोलाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । करिब तीन हजार यौनकर्मी महिलाहरूको वास्तविक भोगाइ र समस्यालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ । करिब एक मिनेट लामो सार्वजनिक टिजर पूर्ण रूपमा फिल्मकी शीर्ष अभिनेत्री रोशनी कार्कीको वरिपरि घुमेको छ ।
टिजरको सुरुवातमा एक यौनकर्मीको चरित्रमा देखिएकी रोशनी, अन्त्यतिर भने काखमा एउटा सानो शिशु बोकेर शहर बाहिरिँदै गरेको मार्मिक दृश्यमा प्रस्तुत भएकी छन् । उनको चरित्रमा देखिएको यो गहिरो उतारचढाव नै टिजरको मुख्य आकर्षण हो, जसले यौनकर्मीको जीवनका अनेकौँ जटिलतालाई संकेत गर्दै दर्शकमा ठूलो कौतूहल जगाएको छ । टिजरमा रोशनीको संघर्षपूर्ण यात्रामा अभिनेत्रीद्वय सुष्मा निरौला र उषा रजकले बलियो साथ दिएको देख्न सकिन्छ । हेर्नुस् टिजर ।
त्यसैगरी, अभिनेताहरू जीवन भट्टराई, शिशिर वाङ्देल र सबिन कट्टेलको उपस्थितिले फिल्मको कथावस्तुलाई अझै रहस्यमय र चाखलाग्दो बनाएको छ । यही फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने फिल्मको लेखक तथा निर्देशक रोशन मिराज हुन् भने कार्यकारी निर्माता रीना लामा रहेकी छन् । फेथ आस्थाको प्रस्तुति रहेको फिल्मको वितरण नेसनल सिने ग्रुप नेपाल गर्नेछ । ‘लालिमा’ले यौनकर्मीहरूको नभनिएको कथालाई निकै संवेदनशीलताका साथ उठान गर्ने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial













Discussion about this post