इटहरी/ करिब आठ वर्षको लामो पर्खाइपछि नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री रेखा थापा फेरि ‘एक्सन र कट’ भन्दै निर्देशकको भूमिकामा फर्किएकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म दिएकी रेखाले यसपटक भने नेपाली फिल्म इतिहासमै एउटा नयाँ रेकर्ड राख्दै छिन् । उनले स्थापित महिला निर्देशकको रूपमा पहिलो पटक आफ्नै ब्यानर रेखा फिल्मस् भन्दा बाहिर गएर चलचित्र निर्देशन गर्दैछिन् ।
महाशिवरात्रीको शुभ अवसर पारेर काठमाण्डौमा घोषणा गरिएको यस नयाँ फिल्मको नाम हो ‘माया भनेकै यस्तो होला’ । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा बन्न लागेको यस फिल्मले निर्माण घोषणामै ठूलो स्टार-कास्ट र अर्थपूर्ण पोस्टरका कारण दर्शकको ध्यान खिचेको छ । कार्यक्रममा सार्वजनिक गरिएका दुई फस्टलुक पोस्टरले फिल्मको कथालाई दुई फरक पाटोबाट प्रस्तुत गरेका छन् ।

सार्वजनिक पहिलो पोस्टरमा अभिनेता दिल श्रेष्ठसँगै पूर्व मिस नेपालत्रय सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह रातो पहिरनमा सजिएकी छन् । रातो रङले प्रेम र सम्बन्धको गहिराइलाई दर्साउँछ भने पोस्टरमा देखिएको उनीहरूको भावले फिल्ममा ‘लभ ट्रयाङ्गल’ को रोचक कथा हुनसक्ने अनुमान लगाउन सकिन्छ । यस्तै दोस्रो पोस्टर भने निकै भावुक छ । ह्विलचेयरमा बसेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका अभिनेता दिललाई देख्न सकिन्छ ।
@parikalanewsofficial
यसले युवापुस्ताको प्रेमसँगै सन्तानले निभाउनुपर्ने पारिवारिक कर्तव्य र बुढेसकालको सहाराको मर्मस्पर्शी कथालाई पनि उठान गर्ने संकेत गरेको छ । फिल्म घोषणा सभामा उपस्थित कलाकार र सर्जकहरू निकै उत्साहित देखिन्थे । “यो हाम्रै समाज र जीवनका अनुभूतिहरूको कथा हो । तीन जना पूर्व मिस नेपालहरूलाई उहाँहरूको ‘ट्याग’ ले मात्र होइन, कथाको माग र चरित्रमा फिट हुने भएकाले छनोट गरिएको हो । अभिनेता दिल श्रेष्ठ पनि निकै क्षमतावान् हुनुहुन्छ।” निर्देशक रेखा थापा भन्छिन् ।

यस्तै फिल्मका अभिनेता मदनकृष्ण श्रेष्ठ भन्छन्,”रेखा थापाको निर्देशनमा काम गर्दा छुट्टै संसारमा प्रवेश गरे झैँ लागेको छ । म केवल हास्य कलाकार मात्र होइन, यस फिल्ममा मेरो सशक्त र गम्भीर भूमिका रहनेछ ।” दिग्गज कलाकारहरूसँग स्क्रिन सेयर गर्न पाउनुलाई सृष्टिले ‘मायाको अर्को रूप’ भनेकी छन् भने नम्रताले रेखा थापालाई ‘लिजेन्डरी’ निर्देशक भन्दै फिल्म उत्कृष्ट बन्ने विश्वास व्यक्त गरिन् ।
१० वर्षपछि लेखनमा फर्किएका ध्रुव लम्सालले भने, “स्क्रिप्टमा निकै मिहिनेत गरिएको छ । यो फिल्म हेरेपछि मेरा साथीहरूले मलाई गाली होइन, प्रशंसा गर्नेछन् भन्नेमा म ढुक्क छु ।” फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि महत्वपूर्ण अभिनय रहनेछ ।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठले निर्माण गर्न लागेको यस प्रेमकथालाई सुदीप बरालले क्यामेरामा कैद गर्नेछन् । यस्तै, फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, अनिरुद्ध आत्रेयको मुख्य सहायक निर्देशन र सुजेनी मल्लको ड्रेस डिजाइन रहनेछ । निर्माण पक्षका अनुसार यस फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । निर्माण टोलीले यसलाई आगामी वर्षको तीजको विशेष अवसर पारेर दर्शकमाझ प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।












Discussion about this post