इटहरी/ नेपाली फिल्म र फिल्मी पत्रकारिता क्षेत्रलाई एउटै सुत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेलेका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा द सिनेमा टाइम्स का सञ्चालक स्वर्गीय दिनेश सिटौलाको सम्झनालाई चीरस्थायी बनाइने भएको छ । उनको १३औँ पुण्यतिथिको अवसरमा संघद्वारा आयोजित श्रद्धाञ्जली सभामा उनको नाममा ‘स्मृति पुरस्कार’ र अक्षय कोष स्थापनाको ऐतिहासिक घोषणा गरिएको हो ।
संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्तीमा १० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने जानकारी दिइयो । यही कोषको प्रतिफलबाट अब हरेक वर्ष माघ १८ गते स्व. सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिनुका साथै संघको वार्षिकोत्सवमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गरिनेछ । अक्षय कोषमा फिल्मकर्मीहरूको उत्साहजनक साथ स्व. सिटौलाले फिल्म क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अक्षय कोषमा पहिलो दिनदेखि नै सहयोगी हातहरू अघि बढेका छन् ।

विशेषगरी, प्रदर्शनको ५१औँ दिन मनाइरहेको फिल्म ‘झरी पछिको इन्द्रेणी’ टिमले कोषका लागि एकमुस्ट रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएर यस अभियानलाई ठूलो ऊर्जा दिएको छ । संघका अनुसार यसअघि नै विभिन्न फिल्म पत्रकार र निर्माताहरूबाट रु. ३ लाखभन्दा बढी रकम संकलन भइसकेको छ भने अन्य सहयोगीहरूबाट पनि रकम जुट्ने क्रम जारी छ । ओएसआर डिजिटलबाट ३१ हजार, फिल्म लेखक प्रदीप भारद्वाजबाट २५ हजार, निर्माताहरू सरोज वली र मोहितवंश आचार्यबाट २५ हजार कोषमा प्राप्त भएको छ ।
@parikalanewsofficial
यस्तै षट्कोण आर्ट्सको तर्फबाट २५ हजार, दिलासा क्रिएसनका वरिष्ठ पत्रकार लक्ष्मण सुवेदीमार्फत ११ हजार, फिल्म ‘राम नाम सत्य’ टिमको तर्फबाट १० हजार रुपैयाँ प्राप्त भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्व. सिटौलालाई नयाँ र पुराना फिल्मकर्मी तथा पत्रकारहरूबीच सहकार्य गराउने मुख्य कडीको रूपमा स्मरण गरे । बोर्डको तर्फबाट कोषमा रु. ५१ हजार सहयोगको घोषणा गर्दै उनले यो पवित्र कार्यमा हातेमालो गर्न सम्पूर्ण फिल्मकर्मीलाई आह्वान गरे ।
त्यस्तै, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले स्व. सिटौलाको मिलनसार स्वभाव र सकारात्मक सोचको चर्चा गर्दै व्यक्तिगत तर्फबाट रु. १० हजार सहयोग प्रदान गरे । कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार तथा कलाकारहरूले स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गरेका थिए ।

संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ फिल्म पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा र रोयल आचार्यलगायतले उनको योगदानको स्मरण गरेका थिए । संघका महासचिव रघुनाथ सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रमको समापन उपाध्यक्ष कुवेर गिरीले गरेका थिए । संघले अक्षय कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको सूची क्रमशः औपचारिक रूपमा सार्वजनिक गर्दै जाने जनाएको छ ।












Discussion about this post