इटहरी/ लिम्बू समुदायको मौलिक कथा, संस्कृति र कलालाई विश्वव्यापीकरण गर्ने उद्देश्यसहित ‘दोश्रो याक्थुङ सिने अवार्ड इन्टरनेशनल २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा शनिबार अर्थात् यही माघ २४ गते दिउँसो २ बजेदेखि सुरु भएको यो कार्यक्रम याक्थुङ फिल्मकर्मीहरूको सम्मान र साँस्कृतिक उत्सवको रूपमा मनाइयो । अवार्ड कार्यक्रमबाट फिचर फिल्म तर्फ उत्कृष्ट फिल्म ‘नुमा हाङमा’ र उत्कृष्ट छोटो फिल्म ‘तङसिङ’ बन्न सफल भयो ।
गत वर्ष ‘याक्थुङ सिने अवार्ड’ को नाममा मात्र सीमित रहेको यो अवार्ड कार्यक्रमले यस वर्ष आफ्नो दायरा फराकिलो बनाएको छ । आयोजक ‘याक्थुङ चलचित्रकर्मी संघ नेपाल केन्द्रीय समिति’ का अध्यक्ष नवीन मेन्याङ्बोका अनुसार, यसपटक नेपाल भन्दा बाहिर भारतको सिक्किम लगायतका स्थानबाट समेत फिल्महरू प्रतिस्पर्धामा समावेश भएपछि अवार्डको नाममा ‘इन्टरनेशनल’ शब्द थपिएको हो ।

यस्तै संस्थाका महासचिव उदय कुमार सुब्बाले यो कार्यक्रमलाई याक्थुङ फिल्मकर्मीहरूका लागि केवल प्रतिस्पर्धा मात्र नभई एउटा उत्सव, सम्मान र प्रोत्साहनको मञ्चका रूपमा हरेक वर्ष आयोजना गर्न थालिएको बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा फिल्म क्षेत्रका दिग्गजहरूको उपस्थिति थियो । सर्ट फिल्म तथा फिचर्ड फिल्म तर्फ जुरीको भूमिकामा बरिष्ठ अभिनेता प्रेम सुब्बा, कलाकार तथा मुन्धुमविद यासेली योङ्घाङ्ग र निर्देशक तथा कलाकार बिजय सुब्बा रहेका थिए भने म्युजिक भिडियो तथा पालम तर्फ जुरीको भुमिकामा प्राध्यापक डाक्टर तथा पालमविध अम्बिका सम्बाहाम्फे र गाय तथा निर्देशक खगेन्द्र याक्सो रहेका थिए । गतवर्ष जस्तै यस वर्ष पनि अवार्ड कार्यक्रम भब्य भएको प्रतिक्रिया पाएको आयोजक संस्थाका कोषाध्यक्ष तेज कुमार मेन्याङ्ग्बोले बताए, आगामी वर्ष पनि अझै भब्य र यसपटकका सल्लाहसुझावलाई मनन गर्दै बृहत अवार्ड कार्यक्रम गरिने उनको भनाई छ ।
@parikalanewsofficial
विशिष्ट अतिथिहरूमा चर्चित फिल्म निर्देशक नवीन सुब्बा, वरिष्ठ अभिनेता प्रेम सुब्बा, यासेली योङहाङ, चलचित्र निर्माता संघका उपाध्यक्ष ज्योतिराज राई, अभिनेत्री सृजना निङलेखु, परीक्षा लिम्बू, चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधान, महासचिव दिनेश कोइराला, निर्देशक प्रकाश सुब्बा तथा भीम लामा लगायतका फिल्मकर्मीहरूको बाक्लो जमघट रहेको थियो । औपचारिक कार्यक्रमका बिच नृत्य, गायन तथा नाटक मञ्चनले माहोललाई थप रमाइलो बनाएको थियो ।

अवार्ड समारोहमा फिचर फिल्म, सर्ट मुभि र म्युजिक भिडियो गरी विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने स्रष्टाहरूलाई सम्मान गरियो । फिचर फिल्म तर्फ उत्कृष्ट निर्देशकको अवार्ड नुमा हाङमा फिल्मबाट नियारा कुन्दाक लिम्बूले हात पारिन् भने उत्कृष्ट अभिनेता पुरुष तर्फ बबिन आङ्देङ्वे (सेमिफुङ), उत्कृष्ट अभिनेत्री महिला तर्फ बिमला खजुम (रित), उत्कृष्ट सह–अभिनेता पुरुष तर्फ पूर्ण सेलिङ, उत्कृष्ट चरित्र अभिनेत्री महिला आनुपा (हस्तमाया फुरुङ्गो) ले अवार्ड जित्न सफल भए ।

यस्तै छोटो फिल्म विधामा उत्कृष्ट निर्देशक सागर केरुङ (तङसिङ), उत्कृष्ट अभिनेता (पुरुष): तीर्थ लिम्बु (आङगा), उत्कृष्ट अभिनेत्री (महिला) लक्ष्मी योङहाङ (तङसिङ) ले अवार्ड हात पार्न सफल भए । यस्तै पालाम म्युजिक भिडियो विधा तर्फ इन्टरनेशनल अनर अवार्ड सेमुइ ताजेङ लाई दिइयो भने उत्कृष्ट पालाम भिडियो ‘मिम्जिरेङ सेम्पाङ’ बन्न सफल भयो ।

यस्तै उत्कृष्ट पालाम गायक (पुरुष) को अवार्ड शिव सम्बाहाम्फे हात पार्दा उत्कृष्ट पालाम गायिका (महिला) मुकुम्लुङबाट मनु नेम्वाङ बन्न सफल भईन । उत्कृष्ट मोडल, हिमाल लिम्बु (सेम्मुई ताजेङ) बन्न सफल भए । यता याक्थुङ म्युजिक भिडियो अन्तर्गत उत्कृष्ट म्युजिक भिडियो मुयेङ्सा एरेमा लाई घोषणा गरियो भने उत्कृष्ट गायक (पुरुष) को अवार्ड बबिन शेर्मा, उत्कृष्ट गायिका (महिला) तर्फको अवार्ड तुलसा लिम्बू र उत्कृष्ट मोडलको अवार्ड मौसम इम्वुङलाई प्रदान गरियो ।












Discussion about this post