इटहरी/ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘शिवांश’ मा बलिउडका सुप्रसिद्ध गायक कैलाश खेरको ओजपूर्ण स्वर सुन्न पाइने भएको छ । निर्माण पक्षले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै भारतीय गायक खेरले ‘शिव ताण्डव स्तोत्रम्’ गाएको जानकारी दिएको हो ।
आफ्नो जादुमय आवाजका लागि विश्वभर चर्चित खेरले फिल्ममा समावेश गीतलाई भारत र नेपालबीचको मैत्री सम्बन्धको प्रतीकका रूपमा चित्रण गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, “नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रेम दिनुहुन्छ, त्यसका लागि मसँग शब्द छैन । यसपटक भारत-नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौं ।” उनले नेपाली दर्शकबाट पहिले जस्तै माया र आशीर्वादको अपेक्षा समेत राखेका छन् ।

गीतको जानकारीसँगै सार्वजनिक गरिएको पोस्टरले फिल्मको कथावस्तु गम्भीर र तनावपूर्ण रहेको संकेत गरेको छ । पोस्टरको पृष्ठभूमिमा चक्र र आगो देखिन्छ । मुख्य पात्रहरू आक्रोशित र तनावमा देखिन्छन् । पोस्टरमा अभिनेता प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रूपमा प्रस्तुत भएका छन् भने विकास जोशी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छन् ।
त्यस्तै, तेज गिरी रिसाहा मुद्रामा छन् भने रुषा न्यौपाने र विमला लिम्बूको भावभंगीमा आश्चर्य र अवलोकनको मिश्रण देखिन्छ । पोस्टरको कलर टोनले कथामा रहेको निराशा र संघर्षलाई प्रतिविम्बित गरेको छ । सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशन रहेको यस फिल्मको कथा र निर्माण अञ्जान केसीले गरेका हुन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्ममा प्रवीण खतिवडा, विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा, सन्तोष कुमार आत्रेय, बारात लिम्बू, प्रदीप कुमार चौधरी, तुलसा लिम्बू, सबिर चुरौटे, टिका निरौला, कुन्दन चौधरी, सागर घिमिरे, रत्न लिङ्देन लगायतको अभिनय रहेको छ ।
@parikalanewsofficial
फिल्मको संगीत पक्ष सशक्त बनाउन न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले संगीत भरेका छन् । मेकअप तुलसा लिम्बू, गीत रचना विप्लव प्रतीक र राजनराज शिवाकोटीको रहेको छ । फिल्ममा कैलाश खेरका अलावा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको पनि स्वर रहेको छ । डिजिटल सिनेमा नेपाल (डीसीएन) ले वितरण गर्ने यस फिल्ममा सरद महतोको छायांकन र विक्रम चोहानको कोरियोग्राफी रहेको छ ।












Discussion about this post