इटहरी/ प्रदर्शन मिति नजिकिएसँगै फिल्म ‘बिगुल’ ले आफ्नो प्रचारप्रसारलाई आक्रामक र बृहत् बनाएको छ । आगामी फागुन १ गते प्रदर्शनको तयारीमा रहेको यो फिल्मले केवल मनोरञ्जन मात्र नभई जनताको आवाज बोल्ने सन्देशसहित देशव्यापी यात्रा पूरा गरेको छ । केही साताअघि कोशी प्रदेशका प्रमुख शहरहरू इटहरी, धरान, दमक, बिराटनगर र विर्तामोड हुँदै चितवनसम्म टीम पुगेको थियो ।
यतिबेला ‘बिगुल’ टिमले मंगलबार आफ्नो साताव्यापी पश्चिम नेपाल भ्रमण भव्यताका साथ समापन गरेको छ । निर्देशक रमेश कोइराला, निर्माता दिनेश कोइराला र अभिनेता नरेन खड्काको टोलीले बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगन्ज हुँदै पर्यटकीय नगरी पोखरामा पुगेर दर्शकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेको हो । प्रचारका क्रममा दर्शकले फिल्मको कथावस्तुप्रति उच्च चासो देखाएको निर्माण पक्षको अनुभव छ ।
निर्माता दिनेश कोइराला भन्छन्, “हामीले जहाँ पनि ‘बिगुल’ ले उठाएको जनताको आवाजप्रति निकै सकारात्मक प्रतिक्रिया पायौं । स्थानीय प्रतिष्ठित व्यक्ति, सञ्चारकर्मी र विशेषगरी नेपाल जेसिसको साथले हामी उत्साहित छौं ।” अभिनेता नरेन खड्काका अनुसार फिल्मले भुँइमान्छेको कथा बोल्ने भएकाले हरेक उमेर, वर्ग र समुदायका दर्शक यसमा आकर्षित भएका छन् । “पोखरा, बुटवलदेखि नेपालगन्जसम्मका दर्शक फिल्म हेर्न आतुर हुनुहुन्छ,” खड्काले भने ।
@parikalanewsofficial
फिल्मले समसामयिक राजनीतिक खिचातानी, पारिवारिक दायित्व र आम नागरिकको मौलिक हकको विषयलाई यथार्थपरक ढंगले पर्दामा उतारेको छ । पोखरामा भएको प्रचारका क्रममा विभिन्न कलेजका विद्यार्थीहरूसँगको भेटमा ‘जेन्जी’ले समेत फिल्मको विषयवस्तुमा गहिरो रुचि देखाएका थिए । म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको ‘बिगुल’ मा नरेन खड्का, बेनीशा हमाल, नीर शाह, सरोज खनाल, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा र रबिन्द्र खड्का लगायतका अभिनय रहेको छ ।
प्रदिप भारद्वाज र मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ । फिल्ममा शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, एनवी महर्जनको द्वन्द्व र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । महेश कोइराला र सूर्यकान्त कोइराला सह-निर्माता रहेको फिल्मलाई काफिया फिल्मस्ले काठमाण्डौ भित्र र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट काठमाण्डौ बाहिर वितरण गर्दैछन् ।














Discussion about this post