इटहरी/ सामाजिक कथावस्तुमा दर्शकको मन जितेका निर्देशक दिनेश राउत जब आफ्नो पुरानो ‘लभ स्टोरी’ जनरामा फर्किए, तब बक्स अफिसमा एक किसिमको तरङ्ग पैदा भएको छ । यही माघ २३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ ले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थितिको संकेत देखाएको छ ।
ट्रेलर र गीतसङ्गीतले सिर्जना गरेको ‘हाइप’ का कारण फिल्म रिलिज हुनुअगावै ओभरसिज प्रदर्शन अधिकार धमाधम बिक्री भएको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन् । विदेशमा रहेका नेपाली दर्शकको अत्याधिक मागलाई सम्बोधन गर्दै निर्माता टिमले अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, क्यानडामा मेरो इभेन्ट्स र मध्यपूर्वमा नेपफिल्म
लाई प्रदर्शन अधिकार बिक्री गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा १० हजारभन्दा बढी दर्शक को ऐतिहासिक उपस्थितिमा सार्वजनिक गरिएको ट्रेलरले फिल्मको भव्यता पुष्टि गरिसकेको छ । सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङमा पर्न सफल ट्रेलरले ८ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । त्यस्तै, फिल्मको गीत ‘डोको बुन्ने’ ले ६० लाखभन्दा बढी भ्युजसहित सांगीतिक क्षेत्रमा कब्जा जमाएको छ ।
@parikalanewsofficial
केहर सिंह लिम्बुको स्वर तथा सुमन तामाङको सङ्गीत रहेका अन्य गीतहरू ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ पनि दर्शकको रोजाइमा परेका छन् । ट्रेलर रिलिज कार्यक्रममा उर्लिएको जनसागर देखेर भावुक बनेका निर्देशक दिनेश राउतले आफ्नो सपना पूरा भएको बताएका थिए । उनले यही उत्साह हलसम्म देखिने र ‘कुमारी’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् । विनिश इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको यस फिल्मबाट अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गर्दैछन् ।
उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । पोस्टर डिजाइन रोयल भीमसेन र कार्यकारी निर्माण केदार भुसालले गरेका हुन् । प्रेम, विछोड र सामाजिक परिवेशको मिश्रण रहेको ‘कुमारी’ ले वर्षकै उत्कृष्ट प्रेम कथा पस्कने अपेक्षा गरिएको छ ।














Discussion about this post