इटहरी/ फिल्ममा अक्सर प्रेम पर्नुलाई उत्सवको रूपमा देखाइन्छ, तर प्रेम टुट्दाको मानसिक उथलपुथललाई विरलै पर्दामा उतारिन्छ । यही परम्परालाई तोड्दै निर्देशक सुदिप्ताले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘रमिताको पिरती’ मार्फत एउटा फरक कथा भन्न लागेकी छन् । लभस्टोरीको भीडमा यो फिल्मले ‘ब्रेकअप स्टोरी’को रूपमा आफ्नो बेग्लै पहिचान बनाउने सङ्केत गरेको छ ।
आइतबार काठमाण्डौंमा एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले दर्शकमाझ कौतुहलता जगाएको छ । फिल्मको केन्द्रमा रहेकी पात्र ‘रमिता’ अर्थात् अभिनेत्री आना शर्माको वरिपरि घुमेको यो कथाले महिलाको दृष्टिकोण बाट प्रेम र धोकाको व्याख्या गर्छ । हेर्नुस् ट्रेलर ।
निर्देशक सुदिप्ता भन्छिन्, “हामीले हिरोको आँखाबाट धेरै प्रेम कथाहरू हेर्यौँ । तर, ब्रेकअपपछि एउटी युवतीको मनस्थिति कस्तो हुन्छ ? उसले समाज र सम्बन्धलाई कसरी बुझ्छिन् ? यो फिल्म त्यही प्रश्नको उत्तर हो ।” यस फिल्मका लागि अभिनेत्री आना शर्माले निर्देशक सुदिप्तासँग ६ महिना लामो ‘वर्कसप’ गरेर आफूलाई रमिताको पात्रमा ढालेकी छिन् । उता, अभिनेता धिरज मगरले आफू पछिल्लो समय ‘हिरो-सेन्ट्रिक’ भन्दा पनि कथा र पात्र प्रधान फिल्ममा आकर्षित भएको बताउँदै यो फिल्मले दर्शकलाई आफ्नो फरक रूप देखाउने दाबी गरे ।
@parikalanewsofficial
विशेष आकर्षणको रूपमा, युवा पुस्ताका ढुकढुकी गायक समीर श्रेष्ठले यही फिल्ममार्फत अभिनेताका रूपमा नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । सेरो फिल्मस्को प्रस्तुतिमा सागर लम्साल निर्माता र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई लगायतको अभिनय छ । सुशान्त केसी र समीर श्रेष्ठ लगायतको सङ्गीत रहेको यो फिल्म आगामी माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।














Discussion about this post