इटहरी/ सामाजिक सञ्जालमा ‘डोको बुन्ने’ गीतको चर्चा र काठमाण्डौ बाहिरका प्रमुख सहरहरूमा गरिएको कन्सर्टका बीच देखिएको दर्शकको अभूतपूर्व भीडपछि फिल्म ‘कुमारी’ को टोली अब काठमाडौंमा होमिएको छ । यही माघ २३ गतेलाई प्रदर्शन मिति तोकेको यो प्रेम कथानक फिल्म युनिटले आफ्नो प्रचार शैलीलाई ‘साङ्गीतिक उत्सव’ का रूपमा अघि बढाएको छ ।
यसै क्रममा, यही माघ १० गते शनिवार काठमाडौंको मुटु मानिने भृकुटीमण्डपको खुला चौरमा एक भव्य साङ्गीतिक साँझको आयोजना गरिँदै छ । साँझ ५ बजेदेखि सुरु हुने सोही विशेष समारोहमा फिल्मको अफिसियल ट्रेलर हजारौँ दर्शकका माझ सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । माघ १ गते नेपालगन्जबाट सुरु भएको ‘कुमारी’ को साङ्गीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी तिरमा भव्यताका साथ सम्पन्न भइसकेको छ ।

निर्देशक दिनेश राउत भन्छन्, “मोफसलको यात्रामा हामीले दर्शकबाट जुन माया र ऊर्जा पायौँ, त्यसले हामीलाई काठमाण्डौको कार्यक्रमका लागि थप उत्साहित बनाएको छ ।” पोखरा र चितवनको साङ्गीतिक माहोललाई अब काठमाडौंमा स्थानान्तरण गर्न टोलीले भृकुटीमण्डप रोजेको हो । यो कन्सर्ट विशुद्ध मनोरञ्जन र दर्शक भेटघाटमा केन्द्रित रहनेछ ।

@parikalanewsofficial
फिल्मका चर्चित गायक केहर सिं लिम्बु आफ्नो ब्यान्ड ‘केहर एन्ड द लुङा’ सहित प्रस्तुत हुनेछन् भने चर्चित महिला ब्यान्ड ‘इस्त्रीज’ले पनि साङ्गीतिक प्रस्तुति दिनेछन् । फिल्मका कार्यकारी निर्माता केदार भुसालका अनुसार, आम दर्शकलाई सहज होस् भनेर कन्सर्टमा प्रवेश नि:शुल्क गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा फिल्मका मुख्य नायक अबिशेक खड्का र नायिका आकृति राजभण्डारी लगायत सिङ्गो ‘कुमारी’ युनिट, सञ्चारकर्मी र फिल्मप्रेमीहरूको बाक्लो उपस्थिति रहनेछ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित र विकास सुवेदीद्वारा लिखित यस फिल्मका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’, ‘तिमी बिना’ ले पहिले नै बजार तताइसकेका छन् । युट्युबमा ‘डोको बुन्ने’ गीतले मात्रै करिब ५० लाख भ्युज बटुलिसकेको छ । काठमाडौंको यो ग्रान्ड कार्यक्रमपछि फिल्मको साङ्गीतिक टोली माघ १७ गते झापाको दमक पुगेर कन्सर्ट आयोजना गर्दै प्रचार यात्रा समापन गर्नेछ ।
















Discussion about this post