इटहरी/ चर्चित गायिका रचना रिमालले नेपालको अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीको कार्यशैली र नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेकी छिन् । देशमा ‘जेन्जी आन्दोलन’ पछि विकसित राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको तयारीलाई लिएर उनले प्रधानमन्त्रीको भूमिकाको उच्च सम्मान गरेकी हुन् ।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै गायिका रिमालले राजनीतिक आस्था र विचार फरक हुनसक्ने भए पनि जटिल संक्रमणकालमा प्रधानमन्त्री कार्कीले निर्वाह गरेको नेतृत्वदायी भूमिका तारिफयोग्य रहेको बताएकी छिन् । रिमालले निर्वाचनको म्यान्डेट प्राप्त गरेको वर्तमान अन्तरिम सरकारले मनोनयन दर्तासम्म आइपुग्दा गरेका कार्यहरू सन्तोषजनक र प्रशंसनीय रहेको उल्लेख गरेकी छिन् ।

@parikalanewsofficial
उनले देशलाई एक अत्यन्त जटिल मोडबाट नयाँ जनादेश अर्थात् चुनावसम्म पुर्याउन प्रधानमन्त्रीले खेलेको भूमिका इतिहासमा कतै न कतै दर्ज हुने विश्वास व्यक्त गरेकी छिन् ।
आफ्नो स्ट्याटसमा उनले लेखेकी छिन्, “राजनैतिक आस्था, विचार आ-आफ्ना होलान् तर जेन्जी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमलाई हेर्ने हो भने उहाँले लिनुभएको नेतृत्व तारिफयोग्य देखिन्छ ।”
निर्वाचनमा जित-हार जसको भए पनि अहिलेको प्रमुख आवश्यकता स्वच्छ, सुरक्षित र भयरहित वातावरण भएको औंल्याउँदै रिमालले यस कार्यमा प्रधानमन्त्री कार्कीलाई आफ्नो पूर्ण साथ रहेको स्पष्ट पारेकी छिन् । उनले प्रधानमन्त्री सुशिला कार्कीलाई ‘धन्यवाद’ दिँदै उच्च सम्मान समेत व्यक्त गरेकी छिन् । गायिका रिमालको यो अभिव्यक्तिले युवापुस्ता र कलाकारहरूमा वर्तमान अन्तरिम सरकारप्रतिको दृष्टिकोणलाई सकारात्मक रूपमा उजागर गरेको छ ।
यस्तो छ रचनाको पुरा स्ट्याटस:
राजनैतिक आस्था, विचार आआफ्ना होलान तर जेन्जि आन्दोलन र त्यसपछि विकर्षित घटनाक्रमलाई हेर्ने हो भने उहाँले लिनुभयो नेतृत्व तारिफ योग्य देखिन्छ । निर्वाचनको म्यान्डेट प्राप्त गरेको अन्तरिम सरकारको नेतृत्व गर्दै निर्वाचनको महत्वपुर्ण पक्ष मनोनयन दर्तासम्म सरकारले गरेका कार्य प्रशंसनीय छन । निर्वाचन पश्चात्को जनादेश त पछि थाहा भैहाल्छ तर कसले जित्ने / हार्ने भन्ने यो माहोलमा स्वच्छ , सुरक्षित र भयरहित निर्वाचनको लागि मेरो साथ उहाँलाई छ । एकदमै जटिल मोडबाट देशलाई नयाँ जनादेशसम्म पुर्याउन यहाँले गर्नु भएको भुमिका र नेतृत्व ईतिहासमा कतै न कतै दर्ज हुनेछ भन्ने विश्वास राखेकी छु । मेरो तर्फबाट मुरि मुरि धन्यवाद र उच्च सम्मान सम्माननीय प्रधानमन्त्री सुशिला कार्कि ज्यु ।
















Discussion about this post