इटहरी/ यही माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ले आफ्नो प्रचार प्रसारलाई सांगीतिक उत्सवका रूपमा अगाडि बढाएको छ । यसै क्रममा माघ १ गते बुटवलमा आयोजित भव्य कन्सर्टका बीच फिल्मको नयाँ गीत ‘फोन नगर’ सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बुटवलमा आयोजना गरेको कन्सर्टमा ५ हजारभन्दा बढी दर्शक ओर्लिएका थिए ।
सोही भीडमाझ लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेलले जब ‘फोन नगर’ गीत गाउन सुरु गरे, माहोल एकाएक गर्मायो । दर्शकले हुटिङ गर्दै ‘वान्स मोर’ भनेपछि कुशलले पुनः गीत सुनाएका थिए । कन्सर्टमा गीत प्रस्तुत भएसँगै यसको भिडिओ पनि प्रिमियर गरिएको थियो ।सार्वजनिक ‘फोन नगर’ गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलको रहेको छ भने सङ्गीत चर्चिल भुसालको छ ।
गीतबारे खुल्दै कुशलले भने, “यो गीतका लागि हामीले निकै मिहिनेत गरेका छौँ । टिमसँगको भाइब मिलेपछि झन्डै सातौँ ड्राफ्टमा पुगेर शब्द फाइनल भयो । यो एक वर्षअघिको योजना हो । गीतले प्रेम सम्बन्ध टुटिसकेपछि केटीको दृष्टिकोण कस्तो हुन्छ भन्ने कथा बोल्छ ।” गीतको भिडिओमा कुशलका साथ अभिनेत्री आना शर्मा फिचर्ड छिन् । हेर्नुस् भिडियो ।
भिडिओलाई झोलेइज्मले निर्देशन गरेका हुन् । सुदिप्ताको निर्देशनमा बनेको यो फिल्ममार्फत चर्चित गायक समीर श्रेष्ठ अभिनेताका रूपमा नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । फिल्मको अर्को गीत ‘तिमी भए काफी’ ले अहिले टिकटकमा तहल्का मच्चाएको छ । बुटवलको कन्सर्टमा समीरले यो गीत गाउँदा र आना शर्माले साथ दिँदा दर्शकको उत्साह हेर्नलायक थियो । फिल्मकी मुख्य पात्र रमिता अर्थात् आना शर्मा यस फिल्मबाट कार्यकारी निर्मात्रीका रूपमा पनि जोडिएकी छन् । फिल्ममा आना र समीरसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई लगायतका कलाकारको अभिनय छ ।
@parikalanewsofficial
निर्माता सागर लम्सालका अनुसार बुटवलको अपार सफलतापछि फिल्मको सांगीतिक टोली अब विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा कन्सर्ट लिएर जाँदैछ । यो फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल संगीत तथा गायन रहेको छ । यो फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले काठमाण्डौ उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरणको जिम्मा लिएको छ । फिल्मको निर्मातामा सागर लम्साल रहेका छन् भने सन्तोष लम्साल कार्यकारी निर्माता र सुवास कोइराला सह-निर्माता हुन् ।
















Discussion about this post