इटहरी/ प्रदर्शनको संघारमा रहेको बहुप्रतिक्षित फिल्म ‘आ बाट आमा’ले प्रचारप्रसारमा धमाकेदार सुरुवात गरेको छ । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ ले सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबमा २२ लाख भन्दा बढी भ्युज बटुल्न सफल भएको छ । माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको यस गीतले छोटो समयमै पाएको यो विशाल साथले फिल्मप्रति दर्शकको व्यग्र प्रतिक्षा र कलाकारहरूप्रतिको क्रेजलाई पुष्टि गरेको छ ।
गीतले नेपाली समाजको तीतो यथार्थ अर्थात् परदेशिनु पर्ने बाध्यता र विछोडको पीडालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू पल शाह र विपना थापासँगै दक्षिण भारतीय अभिनेता प्रदीप रावत, चर्चित स्टोरी टेलर साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्त लगायतको अभिनय देख्न सकिन्छ । भिडियोको भावनात्मक पक्ष र कलाकारहरूको अभिनयले दर्शकको मन जितेको प्रतिक्रियाहरू आइरहेका छन् । हेर्नुस् भिडियो ।
किरण परियारको सुमधुर स्वर रहेको यस गीतमा अभि सुनारको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । शब्द र संगीतको संयोजनले परदेशीको कथालाई जीवन्त बनाएको छ । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई एक्सन जनरामा ख्याति कमाएका निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् ।
@parikalanewsofficial
फिल्मको कथा र पटकथा स्वयं पन्तले नै लेखेका हुन् भने संवादमा उनलाई अभिमन्यू निरवी र अमर न्यौपानेले साथ दिएका छन् । नवराज उप्रेतीको डिओपी छायांकन रहेको यस फिल्ममा गजित बिष्ट र बेगम नेपालीको पनि विशेष भूमिका रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको संयुक्त लगानी रहेको छ । गीतको यो अभूतपूर्व सफलतासँगै अभिनेता पल शाह, विपना थापा सहितको सम्पूर्ण निर्माण टिम यतिबेला फिल्मको व्यापक प्रचारप्रसारमा होमिएको छ ।
















Discussion about this post