इटहरी/ प्रेम सम्बन्ध, त्यसभित्रको छलकपट र अन्त्यमा जन्मने प्रतिशोधको कथा बोकेको फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरको लबिम मलमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले फिल्मको आधिकारिक ट्रेलर रिलिज गरेको हो । सार्वजनिक ट्रेलरले दर्शकलाई ‘साइकोलोजिकल थ्रिल’को अनुभव गराउँछ । सुरुवातमा पात्रहरू बीचको सामिप्यता र रोमान्स देखिए पनि विस्तारै कथाले गम्भीर मोड लिन्छ ।
प्रेम नपाउँदा उत्पन्न हुने मानसिक तनाव, धोका र त्यसपछि सुरु हुने बदलाको शृङ्खलालाई ट्रेलरमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । निर्माण पक्षले फिल्मको मुख्य कथावस्तुलाई भने चलाखीपूर्ण ढङ्गले लुकाएको छ, जसले गर्दा दर्शकमा सस्पेन्स कायमै रहने देखिन्छ । भिजुअल र कलर ग्रेडिङको प्रयोगले फिल्मको ‘डार्क टोन’ लाई बलियो बनाएको छ । हेर्नुस् भिडियो ।
बलिराम चौहानको डेब्यु निर्देशन रहेको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूको जमघट देख्न सकिन्छ । फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन । साथै, बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनय हेर्न पाइनेछ ।
@parikalanewsofficial
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यस फिल्म आगामी माघ १६ गते देखि देशभर प्रदर्शनमा आउनेछ । फिल्मको निर्माण पक्ष पनि बलियो देखिएको छ । फिल्ममा कार्यकारी निर्माताको रुपमा नरेन्द्र मैनाली रहेका छन्, उनी यो फिल्मको छायाकार समेत हुन् । यस्तै फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाल यो फिल्ममा कार्यकारी निर्माताको रुपमा रहेकी छन् । यस्तै सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । नयाँ शैली र सस्पेन्स जनरा मन पराउने दर्शकका लागि यो फिल्मले नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।
















Discussion about this post