इटहरी/ आगामी दशैको फूलपातीबाट आफ्नो प्रदर्शन मिति सार्वजनिक गर्दै बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको २ ओटा पोस्टरमा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई ‘दुर्गामाता’को अवतारमा चित्रण गरिएको छ । यस्तै, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरुलाई पनि सार्वजनिक पोस्टरमा अटाईएको छ ।
निर्माता खगेन्द्र लामिछानेका अनुसार आजभन्दा सात बर्ष अगाडि ठीक आजैको दिनमा पशुपति प्रसादको फस्ट लुक सार्वजनिक गरिएको थियो । सोही संयोग पशुपति प्रसाद २ भष्मे डनको फस्ट लुक सार्वजनिकमा जुरेको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’मा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा सिवाकोटीको पनि बिशेष भुमिका रहनेछ । सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिनेछन् । दिनेश कोइराला, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय फिल्ममा रहेको छ ।
दिनेश कोइराला कोशी प्रदेशको इटहरीलाई आफ्नो कार्यक्षेत्र बनाएर चलचित्र उधोगमा पछिल्लो समय जम्दै गरेका कलाकार हुन् । आफ्नो राम्रो भुमिका रहेका कारण यो फिल्मबाट आफुलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिनेमा कोइराला आशावादी छन् । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा समावेश गरिएको छ । यो फिल्मको कथालाई खगेन्द्र लामिछानेले लेखेका हुन् भने निर्माता पनि उनी स्वयं हुन् । टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।
Discussion about this post