इटहरी/ हातमा बन्दुक, सेतो सुट, आँखामा कालो चस्मा र कारको बोनेटमा ‘ग्याङ्स्टर’ लुक्स । यो कुनै नयाँ फिल्मको दृश्य होइन, गायक दुर्गेश थापाको आगामी गीतको पोस्टर हो । ‘दुश्मन हेरेको हेरै’को चर्चा चलिरहेको बेला दुर्गेशले दर्शकलाई अर्को ठूलो ‘सरप्राइज’ दिने तयारी गरेका छन् ।
गायक थापाले आफ्नो र छोराको जन्मदिनको विशेष संयोग पारेर आगामी माघ १० गते नयाँ गीत ‘नाच नाच भाई नाच’ सार्वजनिक गर्ने घोषणा गरेका छन् । सार्वजनिक पोस्टरमा दुर्गेश मात्र होइनन्, उनका छोरा दक्षित थापा पनि मुख्य आकर्षणको रूपमा देखिएका छन् । बाबु-छोरा नै एक्सन मुडमा देखिएको उक्त पोस्टरले गीतमा भरपूर कमेडी, एक्सन र डान्सको मिश्रण रहेको संकेत गरेको छ ।

गीतको सबैभन्दा ठूलो सरप्राइज भनेको गायनमा भएको सहकार्य पनि हो । पोस्टर अनुसार, यस गीतमा दुर्गेश थापाको साथमा चर्चित गायक राजेश पायल राई र गायिका बर्षा इटानी को स्वर सुन्न पाइनेछ । र्यापमा भने भियोमाले साथ दिएकी छन् । शब्द र संगीत दुर्गेश स्वयंको रहेको छ । गीतको भिडियोलाई विजु पार्कीले निर्देशन गरेका छन् । रुपेश थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा ‘फ्रेस, फन र एक्सन’ भरपुर रहेको दुर्गेशले दाबी गरेका छन् ।
@parikalanewsofficial
पोष्टर सार्वजनीक गर्दै आफ्नो स्ट्याटसमा दुर्गेशले, “यो गीतमा मैले मेरा दर्शकहरूका लागि धेरै सरप्राइज तयार पारेको छु । अहिलेका लागि फस्ट पोस्टर पब्लिक गरेको छु तर असली मजा त माघ १० मा सुरु हुन्छ ।” भनेर लेखेका छन् । बाबु-छोराको केमेस्ट्री, राजेश पायल राईको आवाज र दुर्गेशको फरक शैलीका कारण यो गीतले पक्कै दर्शकको ध्यान तान्ने छ ।
















Discussion about this post