इटहरी/ आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने प्रतीक्षित साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ले प्रदर्शन मिति नजिकिँदै गर्दा आफ्नो सांगीतिक प्रचार सुरु गरेको छ । निर्माण पक्षले सोमबार ‘मौरी पिक्चर्स’को युट्युब च्यानलमार्फत फिल्मको मर्मस्पर्शी गीत ‘कुन हावाले’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा गायिका सलिना बिकेको सुमधुर स्वर, एसडी योगीको संगीत र सितुस्मा अधिकारीका शब्दहरू सजिएका छन् ।
गीतले केवल मनोरञ्जन मात्र दिँदैन, यसले सपना पूरा नहुँदै भताभुंग भएको संसार र वाचा तोडेर हिँड्नेहरूप्रति एउटा अधुरो प्रेमको कथा बोल्छ । हराएको प्रेमीको खोजी, अनन्त प्रतीक्षा र पलपलमा टुटिरहेको मनको पीडालाई गीतले निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । हेर्नुस् भिडियो ।
उनीहरूको अभिनयले चोखो प्रेमको गहिराइमा डुब्ने र प्रेमलाई खेलवाड सम्झने पात्रहरूबीचको द्वन्द्वलाई प्रस्ट्याएको छ । यो वियोगान्त गीतले फिल्मको कथावस्तु कति गम्भीर र रहस्यमय छ भन्ने संकेत समेत गरेको छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो फिल्म साइकोलोजिकल थ्रिलर जनरामा आधारित छ । फिल्ममा बेनिशा, अर्पण, आयुशमान र सृष्टिका अलावा महेश त्रिपाठी र सुरक्षा इटानीको पनि मुख्य भूमिका रहेको छ ।
@parikalanewsofficial
यस्तै बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा देखिएका छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यस फिल्मका कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल स्वयं रहेका छन् । त्यस्तै, सहायक निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । नरेन्द्र मैनालीकै छायांकन रहेको फिल्मको प्रोडक्सन डिजाइन रेलिजा श्रेष्ठले गरेकी छिन् भने दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।
















Discussion about this post