इटहरी/ एक्सन, प्रेम र सत्ता सङ्घर्षको त्रिवेणी समेटिएको फिल्म ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको यो फिल्मले आफ्नो ट्रेलरमार्फत दर्शकमाझ उत्सुकता जगाउन सफल भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’ को ट्यागसहित प्रस्तुत गरिएको छ ।
फिल्ममा ‘पारस’ को भूमिका निर्वाह गरेका सुशीलको एक्सन अवतार र ‘लुक्स’ निकै आक्रामक देखिन्छ । विशेषगरी उनले बोलेका संवादहरूले ट्रेलरलाई वजनदार बनाएका छन् । ट्रेलरमा सुशीलले बोलेको “पारसलाई मन परे दरबार, रिस उठे तरवार” भन्ने संवादले उनको चरित्रको गहिराइ प्रस्ट पार्छ । यस्तै, “बाघको डमरुलाई या त जिस्क्याउनै हुँदैन, या त मारिदिनुपर्छ, तैँले घाइते बनाएर ठूलो भूल गरिस्” भन्ने संवादले फिल्ममा उनी बदलाको भावनामा कति निर्मम हुन सक्छन् भन्ने सङ्केत गर्छ । हेर्नुस् ट्रेलर ।
फिल्ममा अभिनेत्री अञ्जना बराइली र सुशीलको जोडी जमेको छ । उनीहरूको रोमान्टिक ‘केमेस्ट्री’ भने द्वन्द्वको चेपुवामा परेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । अञ्जना मात्र प्रेमिकाको रूपमा सीमित छैनन्, उनी प्रहरी इन्सपेक्टरको भूमिकामा एक्सन अवतारमा समेत देखिएकी छिन् । फिल्मले केवल मारधाड मात्र नभई देशको वर्तमान राजनीतिक अवस्थालाई पनि चित्रण गरेको छ । “भ्रष्ट र देशद्रोहीको पञ्जाबाट नेपाल आमाले मुक्ति पाउनुपर्छ” भन्ने सुशीलको संवादले फिल्मको मुख्य मर्म बोल्नुका साथै समसामयिक राजनीतिक उथलपुथलप्रति व्यङ्ग्य गरेको छ ।
@parikalanewsofficial
निर्देशक विजय केरुङका अनुसार सत्ता प्राप्तिका लागि नेताहरूले कुन हदसम्मको हर्कत गर्न सक्छन् भन्ने विषयलाई फिल्मको कथावस्तु बनाइएको छ । दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील र अञ्जनाका अलावा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकारहरूको अभिनय देख्न सकिन्छ । करिश्मा मानन्धर फिल्ममा सुशीलकी आमाको भूमिकामा छिन् भने सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूको अभिनयले फिल्मलाई सशक्त बनाएको छ ।शिवम अधिकारीको पटकथा तथा संवाद रहेको यस फिल्मले एक्सनका पारखी र सामाजिक सन्देश खोज्ने दुवै थरी दर्शकको अपेक्षा पूरा गर्ने विश्वास निर्देशक केरुङले व्यक्त गरेका छन् ।
















Discussion about this post