इटहरी/ एउटा बुवाले छोरीको अगाडि देखाउने मुस्कानभित्र कति पीडा लुकेको हुन्छ ? अनि सन्तानको भविष्यका लागि अभिभावकले देख्ने सपनाको गहिराइ कति हुन्छ ? यिनै भावनात्मक प्रश्नहरूको जवाफ लिएर फिल्म ‘मिरमिरे’ दर्शकमाझ आउने अन्तिम तयारीमा छ । यो फिल्म यही आउने माघ १ गते माघे संक्रान्तिको अवसरमा सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’लाई केवल बाबु-छोरीको कथा मात्र नभएर, सन्तानप्रति अभिभावकको दृष्टि र त्यागको दस्तावेज भएको बताएका छन् । उनका अनुसार, यो फिल्मले एउटा बुवाले छोरीको खुसीका लागि आफ्नो मुख्य पीडा वा कुरा कसरी लुकाउँछन् भन्ने मर्मस्पर्शी कथा पेस गर्छ । दयाहाङ भन्छन्- ‘यो हेरेपछि सोच्न बाध्य बनाउने फिल्म हो ।’
फिल्मको विषयवस्तुबारे प्रष्ट पार्दै दयाहाङ भन्छन्, “झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा गहिरो पक्ष देखिने भएकाले नै मैले यो कथा रोजेको हुँ । यो बाहिर देखिएजस्तो बाबु-छोरीको सामान्य कथा मात्र होइन, गहिरिएर हेर्दा यसमा धेरै कुरा छन् ।” उनले यो फिल्मलाई ‘प्यासन’ ले हेर्नुपर्ने फिल्मको संज्ञा दिएका छन् । “हामी कतिपय अवस्थामा काममा प्यासन छैन भन्छौँ, तर ‘मिरमिरे’ त्यस्तो फिल्म हो जसले दर्शकलाई हलबाट निस्किएपछि पनि सोच्न बाध्य बनाउँछ,” दयाहाङले थपे ।
@parikalanewsofficial
उनले पात्रको भित्री इमोसनलाई पर्दामा उतार्न आफू निकै केन्द्रित भएको अनुभव सुनाए । यम शेर्पाको लेखन तथा निर्देशन रहेको यो प्रतिक्षित फिल्म यार्सा फिल्मसको ब्यानरमा निर्माण भएको हो । फिल्ममा दयाहाङ राईका साथै चर्चित गायक तथा कलाकार प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको मुख्य भूमिका रहेको छ ।
फिल्मको निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा रहेका छन् भने सह-निर्माताको रूपमा गोविन्द बोहरा र सुदिप कुँवर छन् । फिल्मको कार्यकारी निर्माता तथा वितरकको जिम्मेवारी आरआर फिल्मसका सञ्चालक रोहित कट्टेलले सम्हालेका छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन् । फिल्मको देशभर वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
















Discussion about this post