इटहरी/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक उम्मेदवार चयनलाई लिएर चुलिएको विवादका बीच चर्चित टेलिभिजन प्रस्तोता, अभिनेता तथा निर्देशक आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले समानुपातिक सूचीबाट आफ्नो नाम हटाएको घोषणा गरेका हुन् ।
पछिल्लो समय रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको सहकार्यपछि ‘नयाँ शक्ति’को रूपमा चर्चामा रहेको रास्वपाले सार्वजनिक गरेको समानुपातिक सूचीमा धनाढ्य र शक्तिशाली व्यक्तिहरूको वर्चस्व रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । सोही असन्तुष्टिका बीच डाक्टर तथा गायिका त्रिशला गुरुङले उम्मेदवारी फिर्ता लिएको केही समयमै शाहले पनि यस्तो निर्णय लिएका हुन् ।

आशिफ शाहले आफू सक्रिय राजनीतिमा नरहे पनि देश बनाउने हुटहुटीका कारण बालेन–रवि–कुलमानको मिलनका लागि निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् । उनले सुरुदेखि नै आफू प्रत्यक्ष निर्वाचन लड्न चाहेको तर साथीहरूको आग्रहमा समानुपातिकमा नाम समावेश भएको स्पष्ट पारेका छन् ।
@parikalanewsofficial
शाहले लेखेका छन्, “जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ । त्यसैले म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।” आफूले उम्मेदवारी फिर्ता मात्र लिएका छैनन्, शाहले समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि “दुई कदम पछाडि हट्न” र नाम फिर्ता लिन विनम्र आग्रह गरेका छन् ।
उनले पार्टी र नेतृत्वलाई जनताको भावना बुझ्न सन्देश दिँदै अबको बाटो प्रत्यक्ष निर्वाचन नै भएको बताएका छन् । समानुपातिकबाट बाहिरिएसँगै आशिफ शाहले आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट आफूहरु प्रत्यक्ष उम्मेदवारी दिन तयार रहेको बताएका छन् । उनले भनेका छन्, “प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ—उठ्ने नै हो । हामी काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ ।”
समानुपातिक सूचीलाई लिएर चौतर्फी आलोचना खेपिरहेको रास्वपाका लागि एकपछि अर्को चर्चित अनुहारले उम्मेदवारी फिर्ता लिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । यसले एक किसिमको सकारात्मक राजनैतिक अभ्यासको रुपमा पनि हेरिएको छ । यता यसले पार्टी नेतृत्वलाई उम्मेदवार छनोट प्रक्रियामा पुनर्विचार गर्न ठुलो दबाब समेत सिर्जना गरेको छ ।
यस्तो छ आसिफको पुरा स्ट्याटस:
उम्मेदवारी फिर्ता लिएको बारे
राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म।
तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ।
आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो।
म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ। तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो।
तर त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो।सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो।
देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु।
तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।
यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु|
साथै, जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु।
प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ—
प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ—उठ्ने नै हो।
हामी काठमाडौँ–५ बाट
प्रत्यक्ष उम्मेदवारी दिन
पूर्ण रूपमा तयार छौं।
देशभन्दा ठूलो केही हुँदैन।
— आशिफ शाह
















Discussion about this post