इटहरी/ चर्चित गायिका तथा चिकित्सक डा. त्रिशाला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रस्तावित समानुपातिक उम्मेदवारी त्याग्ने घोषणा गरेकी छिन् । पार्टीले उनलाई आगामी निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारका रूपमा सिफारिस गरे पनि उनका अनुसार गहन आत्ममूल्यांकन पछि सो जिम्मेवारीबाट पछि हट्ने निर्णय लिएकी हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. गुरुङले उम्मेदवारी फिर्ता लिनुको मुख्य कारण स्वास्थ्य सेवा र कला क्षेत्र प्रतिको आफ्नो समर्पण रहेको प्रस्ट पारेकी छिन् । उनले आफूलाई उम्मेदवारका रूपमा विश्वास गरेकोमा पार्टी नेतृत्व र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेकी छिन् । एक चिकित्सक र कलाकारको रूपमा समाजलाई धेरै दिन बाँकी रहेको र हाल सोही क्षेत्रमा पूर्ण रूपमा समर्पित हुन चाहेको उनले उल्लेख गरेकी छिन् ।

कुनै राजनीतिक पदमा नबसी स्वतन्त्र नागरिकको हैसियतबाट समुदाय र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उनको दृढ संकल्प रहेको छ । पदमा नरहे पनि समाजको आवाज बन्न र आफ्नो विवेकअनुसार जनसेवामा लागिरहने उनले बताएकी छिन् । “मेरो निर्णयको मूल कारण मेरो पेसागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नु हो,” उनले स्ट्याटसमा लेखेकी छिन् ।

@parikalanewsofficial
डा. गुरुङको यो निर्णयसँगै उनले रास्वपाको आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरेकी छिन् । पछिल्लो समय प्रबुद्ध वर्ग र युवाहरूको आकर्षण बढिरहेको रास्वपाका लागि त्रिशाला जस्ता लोकप्रिय व्यक्तित्वको उम्मेदवारी फिर्तीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यता रास्वपाको समानुपातिक उम्मेदवारीमा पछिल्लो समय सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यो त्यसैको परिणाम हो भन्न सकिन्छ ।
















Discussion about this post