इटहरी/ प्रदर्शनको संघारमा रहेको नेपाली फिल्म ‘बिगुल’ ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिँदै एक ओजपूर्ण गीत सार्वजनिक गरेको छ । आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीतमा देशप्रेम र परिवर्तनको हुन्कार सुन्न सकिन्छ ।
आगामी माघ ९ गतेलाई प्रदर्शन मिति लक गरेको यस फिल्मको सार्वजनिक गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द रचना र संगीत रहेको छ भने ‘राई इज किङ’ अर्थात् राजेश पायल राईले यसमा आवाज दिएका छन् ।
सार्वजनिक भिडियोमा फिल्मका प्रमुख कलाकारहरूलाई राष्ट्रिय झन्डासहित सुशासन, विकास र शान्तिको सन्देश बोकेर घरदैलो अभियानमा हिँडेको देखाइएको छ । देश आम निर्वाचनको तयारीमा जुटिरहेको वर्तमान समयसँग मेल खाने गरी तयार पारिएको यो भिडियोले ठ्याक्कै चुनावी माहौलको झल्को दिन्छ । निर्माण पक्षले यस गीतमा आम जनताको आवाज मुखरित भएको दाबी गरेको छ । हेर्नुस् भिडियो ।
फिल्मका निर्देशक रमेश कोइरालाले ‘बिगुल’ लाई भुइँमान्छेको कथा र समृद्ध नेपालको परिकल्पना भनेका छन् । उनले भने, ‘‘देशको समसामयिक घटनाक्रम र राजनीतिक विषयवस्तुमा आधारित भए तापनि यो पूर्ण व्यावसायिक मनोरञ्जनात्मक फिल्म हो । हामीले समाज जागरणको सन्देशसँगै भरपुर मनोरञ्जन पस्किएका छौँ ।’’ फिल्मलाई ‘जेन्जी’ आन्दोलनप्रति समर्पित गरिएको बताइएको छ ।
दिनेश कोइरालाको कथा र निर्माण तथा कल्पना पौडेलको प्रस्तुति रहेको यस फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा शिव ढकालको छायाङ्कन, एनवी महर्जनको द्वन्द्व र कविराज गहतराज तथा कमल राईको नृत्य निर्देशन रहेको छ ।
@parikalanewsofficial
गीतमा विश्वप्रकाश शर्माका अलावा अर्जुन पोखरेल र मनोज चौलागाईंको पनि संगीत सुन्न सकिन्छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको यो फिल्मलाई काफिया फिल्म्स् (उपत्यका) र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट (मोफसल) ले वितरण गर्दैछन् । यसअघि सार्वजनिक पोस्टर र टिजरले पनि दर्शकको राम्रो साथ पाएको थियो ।
















Discussion about this post