इटहरी/ अभिनेत्री बेनिशा हमालले अभिनयसँगै अब फिल्म व्यवसायको नयाँ क्षेत्रमा पाइला चाल्ने बताएकी छन् । सन् २०२५ को अन्त्यसँगै उनले आफ्नो कम्पनी ‘मौरी पिक्चर्स’ मार्फत फिल्महरूको डिजिटल अधिकार खरिद तथा व्यवस्थापनको काम सुरु गर्ने घोषणा गरेकी हुन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हमालले यो कदमलाई आफ्नो जीवनको ‘नयाँ सुरुवात’ बताएकी छन् ।
उनको यो व्यवसायिक यात्राको पहिलो पाइलाको रूपमा फिल्म ‘द ब्लु लाइट’ रहनेछ । उनी यस फिल्ममा एक्जिक्युटिभ प्रोड्युसरको रूपमा जोडिएकी छन् । नयाँ यात्राको घोषणा गर्दै अभिनेत्री हमालले लेखेकी छन्, “नयाँ सुरुवात सधैं अलमल र अनिश्चितताले भरिएको हुन्छ, तर त्यससँगै एउटा फरक उत्साह पनि हुन्छ । मलाई थाहा छ, यो यात्रा सजिलो हुनेछैन र रातारात सफलता पनि आउने छैन ।”
@parikalanewsofficial
उनले आफू आशावादी रहेको र यो यात्राले फिल्ममेकिङको क्षेत्रमा अझ अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । नेपाली फिल्म उद्योगमा लामो समय बिताएको अनुभव संगालेकी बेनिशाले अब फिल्ममार्फत उद्योगलाई योगदान दिनु आफ्नो दायित्व ठानेर यो निर्णय लिएको बताएकी छन् ।
नयाँ चुनौतीहरू आउने भए पनि दर्शक तथा शुभचिन्तकहरूको माया, समर्थन र प्रोत्साहनको अपेक्षा गरेको उनले उल्लेख गरेकी छन् ।
आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म द ब्ल्यु लाइटको आज अफिसियल टिजर बेनिसाकै कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनीक हुँदैछ ।

बलिराम चौहानद्वारा निर्देशित ‘द ब्ल्यू लाइट’मा अर्पण थापा, महेश त्रिपाठी, आयुशमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । यो फिल्मको बाल कलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यो फिल्मका को–प्रोड्युसर रमन ग्रे हुन् ।
फिल्मको सिनेमाटोग्राफी नरेन्द्र मैनालीले गरेका छन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक हुन् । रेलिजा श्रेष्ठले प्रोडक्सन डिजाइनको कार्य सम्हालेकी छन् भने निर्माण नियन्त्रकमा दिलीप पन्त छन् । रहस्य, मनोवैज्ञानिक तनाव र मौनतामा लुकेका कथा खोज्ने दर्शकका लागि ‘द ब्ल्यू लाइट’ एउटा प्रतिक्षित फिल्मको रुपमा उभिएको छ ।















Discussion about this post