इटहरी/ मंगलबार राति अभिनेत्री स्वस्तिमा खड्काले फेसबुकमा एक पोष्टमा च्याट सहितको स्क्रीनसट सार्वजनीक गरिन् । सो च्याटको अन्त्यमा उनले फर्काएको जवाफले यतिबेला उनको चलाखिको तारिफ भइरहेको छ । उनले आफूलाई ठग्न खोज्ने स्क्यामरलाई नै जिल्ल पार्ने जवाफ फर्काएपछि यतिबेला सो पोष्टको कमेन्टमा तारिफ बटुलेकी हुन् ।
आफू समस्यामा परेको भन्दै ५० हजार सापटी माग्ने व्यक्तिलाई स्वस्तिमाले चलाखीपूर्ण ढंगले रिप्लाई गरेकी छन् । उनले जवाफमा लेखेकी छन्, “मेरो बैंक खाता एक्टिभ गर्न २० हजार आवश्यक परेको छ, बरु तपाइँले त्यो रकम हाल्दिनुस्, त्यसपछि म तपाइँलाई ७० हजार पठाउनेछु ।”
स्वस्तिमाले उक्त कुराकानीको स्क्रिनसट सामाजिक संजालमा राखेपछि अहिले उनको यो चलाखीपूर्ण जावाफ फर्काईलाई उनका फ्यान तथा सञ्जाल प्रयोगकर्ताहरूले गतिलो रिप्लाई भन्दै कमेन्ट गरिरहेका हुन् ।

उनले स्टाटसमा स्क्रीनसट सँगै लेखेकी छन्, “सावधान…! मेरो नामको दुरुपयोग गर्दै मेरा नजिकका साथीहरूलाई पैसा माग्दै गरेको भेटिएको हुनाले त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।”
@parikalanewsofficial
यो समस्यामा उनी सँगै अभिनेत्रीहरु केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता आकाश श्रेष्ठ र धीरज मगर पनि परेका छन् । अभिनेत्री केकी अधिकारीले पनि आफ्नो नाम र तस्बिरको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएकी छन् । उनले लेखेकी छन्, “मेरो नाम र तस्वीरको दुरुपयोग गरि Viber/WhatsApp मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ । यो कार्य कानुनी रुपमा पनि दण्डनिय छ । र सम्पूर्णलाई सजक रहन हार्दिक अनुरोध गर्दछु।”
अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो इन्स्टाग्राम स्टोरीमा फेक अकाउन्टको स्क्रिनसट राख्दै स्पष्टीकरण दिएकी छन् । उनले लेखेकी छन्, “सबैजना, यो म होइन !! यो ठगीमा नफस्नुहोला !!” यसैगरी, अभिनेता आकाश श्रेष्ठले प्रविधिको दुरुपयोगका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले एक नम्बरबाट आफ्नो नाममा आर्थिक सहयोग मागिएको बताउँदै भनेका छन्, “यदि कसैलाई यस्ता किसिमका सन्देशहरू प्राप्त भएमा कृपया सतर्क रहनुहोला र कुनै प्रतिक्रिया नदिनुहोला, किनकि ती पूर्ण रूपमा भ्रामक तथा नक्कली हुन् ।”
यस्तै अभिनेता धिरज मगर पनि यो समस्यामा परेका छन् । उनले आफ्नो नाम र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा ठगी भइरहेको भन्दै फ्यानहरूलाई सचेत गराएका छन् ।
सामाजिक सञ्जालमा एक ‘स्क्याम अलर्ट’ जारी गर्दै मगरले केही व्यक्तिहरूले उनको नाममा नक्कली अकाउन्ट खोलेर सर्वसाधारणसँग रकम मागिरहेको खुलासा गरेका हुन् । उनले त्यस्ता गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

अभिनेता मगरले लेखेका छन्, “जानकारी रहोस्– कसैले मेरो नाम र तस्बिर प्रयोग गरेर फेक अकाउन्ट बनाइरहेको छ र मानिसहरूसँग पैसा मागिरहेको छ । त्यो म होइन ।” उनले आफूले कहिल्यै पनि कसैलाई म्यासेज बक्समा गएर पैसा, सहयोग वा कुनै प्रकारको भुक्तानी नमाग्ने बताएका छन् । उनले आफ्ना शुभचिन्तकहरूलाई त्यस्ता नक्कली अकाउन्टहरूसँग कुराकानी नगर्न, केही पनि नपठाउन र तुरुन्तै ती अकाउन्टलाई रिपोर्ट वा ब्लक गर्न आग्रह गरेका छन् ।
पछिल्लो समय सेलिब्रेटीहरूको नाममा फेक आईडी बनाएर ठगी गर्ने क्रम बढेको भन्दै उनले सबैलाई यस विषयमा सजग रहन अनुरोध समेत गरेका छन् । कलाकारहरुले सार्वजनीक गरेको क्रिनसटमा विभिन्न कारण देखाउँदै २५/३० हजार देखि ५० हजार सम्म पैसा मागिएको छ । कलाकारहरूले आफ्नो आधिकारिक सामाजिक सञ्जाल बाहेक अन्य अपरिचित नम्बर वा अकाउन्टबाट आउने शंकास्पद सन्देशहरूको जवाफ नदिन र आर्थिक कारोबार नगर्न आफ्ना फ्यान तथा आफन्तहरूलाई विशेष आग्रह गरेका छन् ।















Discussion about this post