इटहरी/ भ्यालेन्टाइन डेको प्रेमिल माहोललाई लक्षित गर्दै प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ले दर्शकमाझ पुग्न सांगीतिक यात्राको सहारा लिने भएको छ । माघ २३ गतेबाट देशभर रिलिज हुन लागेको यो प्रेम कथानक फिल्मले आफ्नो प्रचार–प्रसारलाई आक्रामक बनाउँदै देशव्यापी ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ को घोषणा गरेको हो ।
निर्माण पक्षले सार्वजनिक गरेको तालिका अनुसार, यो सांगीतिक यात्रा माघ १ गतेदेखि सुरु भई फिल्म रिलिजको दिन अर्थात् माघ २३ गतेसम्म चल्नेछ । कन्सर्ट शृङ्खला अन्तर्गत दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानजस्ता प्रमुख सहरहरूमा भव्य प्रस्तुति दिइनेछ । फिल्मको प्रचारमा सङ्गीतलाई मुख्य माध्यम बनाइएको छ । कन्सर्टमा फिल्मका चर्चित प्लेब्याक गायक केहरसिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले लाइभ प्रस्तुति दिनेछन् ।

युवापुस्तामाझ लोकप्रिय रहेको यो ब्यान्डको प्रस्तुतिले फिल्मप्रति दर्शकको उत्साह थप बढाउने विश्वास निर्माण टिमले लिएको छ । अहिले फिल्मका दुई गीतहरू ‘कता छौ’ र ‘तिमी बिना’ चर्चामा छन् । कन्सर्ट सुरु हुनु अगावै निर्माण पक्षले लोक लयमा आधारित अर्को नयाँ गीत पनि सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा पनि केहरसिं लिम्बुकै स्वर रहेको छ ।
@parikalanewsofficial
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल लभ स्टोरी फिल्म दिएका निर्देशक दिनेश राउतले ‘कुमारी’ मार्फत फेरि एकपटक प्रेम कथा पस्किँदै छन् । यस फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गर्दैछन् । उनीहरूका साथमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय हेर्न पाइनेछ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन् । विकास सुवेदीको कथा तथा पटकथा रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । फिल्मको डिजिटल वितरण केन्द्र मोसन पिक्चर्सले लिएको छ भने हल वितरणको जिम्मा काठमाडौंमा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले सम्हालेका छन् ।















Discussion about this post