इटहरी/ आगामी माघ १ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘मिरमिरे’ले आफ्नो प्रचारलाई तीव्रता दिँदै शिर्ष गीत सार्वजनिक गरेको छ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यस फिल्मले मंगलबार ‘मिरमिरे भो’ बोलको गीत दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा चर्चित गायक प्रकाश सपूत र गायिका मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ भने गीतको शब्द तथा संगीत पनि स्वयम् प्रकाश सपूतले नै तयार पारेका हुन् ।
गीतको भिडियोले फिल्म भित्रको रमाइलो पाटोलाई उजागर गरेको छ । भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत र नव-अभिनेत्री सिर्जना निङलेखु फिचर्ड छन् । भिडियोमा एक युवती (सिर्जना) को सुन्दरतामा मोहित भएका दुई युवक (दयाहाङ र प्रकाश) को आकर्षणलाई देखाइएको छ ।
युवा–युवतीबीचको पहिलो हेराई, आकर्षण र सुन्दरताको बयानमा केन्द्रित यो गीतले फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनाबीच त्रिकोणात्मक प्रेमकथा रहेको स्पष्ट संकेत गरेको छ । यसअघि सार्वजनिक टिजरमा पनि यो द्वन्द्वको झल्को देखिएको थियो । यसअघि सार्वजनिक टिजरले दयाहाङ राई (बुवा) र शाइसा गौचन (छोरी) बीचको भावनात्मक सम्बन्धलाई देखाएर दर्शकको मन जितेको थियो । हेर्नुस् भिडियो ।
तर, अहिले आएको गीतले भने फिल्ममा रोमान्स र प्रेमकथाको पाटो पनि उत्तिकै शशक्त रहेको प्रष्ट्याएको छ । यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनाका अलावा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायतका कलाकारको अभिनय रहेको छ ।
@parikalanewsofficial
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको यस फिल्मका सह–निर्माता गोविन्द बोहरा र सुदिप कुँवर हुन् । यस्तै, आरआर फिल्मसका सञ्चालक रोहित कट्टेल फिल्मका कार्यकारी निर्माता हुन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको ‘मिरमिरे’मा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रकको रूपमा रहेका छन् । फिल्मको देशभर वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।














Discussion about this post