इटहरी/ देशको वर्तमान अवस्था, राजनीतिक अस्थिरता र एक इमानदार बुवाको संघर्षलाई जीवन्त रूपमा पर्दामा उतार्न सफल फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले प्रदर्शनको तेस्रो दिनमा दर्शकलाई अर्को सांगीतिक उपहार दिएको छ । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले हलमा दर्शकको साथ र ‘भिआइपी’ सेलिब्रेटीहरूको वाहवाही बटुलिरहेकै समयमा निर्माण टिमले आइतबार नयाँ गीत सार्वजनिक गरेको हो ।
हलमा औसत दर्शकको उपस्थिति भइरहँदा फिल्मको कथावस्तुसँग जोड्ने र आकर्षण अझ थप्ने उद्देश्यले ‘जब फर्किन्छु घर’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक नयाँ गीतमा चर्चित गायक हेमन्त रानाको स्वर सुन्न सकिन्छ भने शब्द गणेश कार्की र संगीत संयोजन मनोज थापा मगरको रहेको छ । भिडियोमा फिल्मका प्रमुख कलाकारहरू विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवालको अभिनय समेटिएको छ ।
यो गीतले फिल्मको भावनात्मक पक्षलाई उजागर गर्दै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माण पक्षको छ । फिल्मले रिलिजको छोटो समयमै विशिष्ट व्यक्तित्वहरूको ध्यान तानेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, महानगर प्रहरी प्रमुख राजु पाण्डे र जेनजी नेता सुदन गुरुङ लगायतले हलमै पुगेर फिल्म हेरेका छन् ।
@parikalanewsofficial
फिल्म हेरिसकेपछि उनीहरूले यो फिल्मले नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै तारिफ गरे । उनीहरूको प्रतिक्रिया थियो, “यो फिल्म सन्देशमूलक छ र हरेक नेपालीले हेर्नैपर्ने बनेको छ ।” अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बनेको फिल्मका कलाकारहरू गणेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, प्रियाना आचार्य ‘मुन्नी’, विमोचन, जेसिका आदि काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
दर्शकहरूले फिल्म उत्कृष्ट बनेको भन्दै निर्माण टिमलाई हौसला प्रदान गरेका छन् । यो फिल्म विशेष दुई कारणले पनि चर्चामा छ । पहिलो, अभिनेता गणेश उप्रेतीको ९ वर्षपछिको ‘कमब्याक’, जसले पुरानो पुस्ताका दर्शकलाई लोभ्याएको छ । दोस्रो, नयाँ प्रतिभाको उदय । निर्देशक घिमिरेकै कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् ।
जेसिका वरिष्ठ अभिनेत्री दीपाश्री निरौलाकी भान्जी (बहिनीकी छोरी) हुन् । साथै, एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष प्रस्तुति पनि छ । नागराज इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा अनिशा सेन्दाङ लिम्बूले निर्माण गरेको यो फिल्मले जनताको आक्रोश र नयाँ पुस्ताको आकांक्षालाई मुख्य विषय बनाएको छ । फिल्ममा बुद्ध थापाको छायांकन छ भने पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् ।















Discussion about this post