इटहरी/ बाल्यकालदेखि हामीले सुन्दै आएको ‘खरायो र कछुवा’को दौडको कथालाई नितान्त नयाँ शैली र सन्देशसहित कोशी प्रदेशका विद्यालयहरूमा प्रदर्शन गरिएको छ । एक थिएटर नेपालको प्रस्तुति र कलालय इटहरीको सहकार्यमा तयार पारिएको यो नाटकले परम्परागत हार–जितको कथालाई बदल्दै ‘सहकार्य’ को नयाँ भाष्य निर्माण गरेको छ ।
दमकमा २५ सयभन्दा बढी विद्यार्थीले हेरिसकेको यो नाटक अहिले सुनसरीको इटहरी क्षेत्रमा प्रदर्शन भइरहेको छ । इटहरीका सुस्मा सेकेन्डरी स्कुल, भृकुटी स्कुल, बुल्मिङ किन्डर गार्डेन, हाम्रो बोर्डिङ स्कुल र क्रिस्टल एकेडेमी लगायत झुम्काको नमुना सामुदायिक विद्यालयमा नाटक प्रदर्शन भइसकेको छ । साथै, भोलि विद्या आरम्भ स्कुलमा देखाइने तय भएको छ । विद्यालयबाहेक इटहरीका विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूले पनि यो नाटक अवलोकन गरेका छन् ।

यस नाटकले खरायो र कछुवालाई केवल प्रतिस्पर्धीको रूपमा मात्र उभ्याएको छैन । कथाको सुरुवातमा अहंकार र आत्मविश्वासको द्वन्द्व देखिए पनि अन्त्यमा उनीहरूले एक–अर्कालाई हराउनु भन्दा साथ लिएर अघि बढ्नु नै दीर्घकालीन सफलता हो भन्ने बोध गर्छन् । समाज, राजनीति र नेतृत्वमा देखिने अस्वस्थ प्रतिस्पर्धालाई व्यंग्य गर्दै नाटकले ‘व्यक्तिगत जितभन्दा सामूहिक सफलता ठूलो हो’ भन्ने सन्देश दिएको छ । यसलाई सामाजिक रूपान्तरणको एक सशक्त रूपकका रूपमा प्रस्तुत गरिएको छ ।
@parikalanewsofficial
नाटकको अर्को मुख्य आकर्षण यसको प्रस्तुति शैली ‘स्याडो पपेट्री’ (छाया कठपुतली) हो । प्रकाश, छाया, कागज र कार्डबोर्डका कठपुतली प्रयोग गरी पर्दा पछाडिबाट देखाइने यो कलाले विद्यार्थीहरूलाई फरक अनुभव दिएको छ ।
नाटकमा दृश्य, ध्वनि, ताल र शारीरिक संकेतको प्रयोग गरिने हुँदा यसले विद्यार्थीको कल्पनाशक्ति र विश्लेषण क्षमता बढाउन मद्दत पुर्याएको छ । यो विधि परम्परागत शिक्षणभन्दा प्रभावकारी र मनोरञ्जनात्मक रहेको आयोजकको दाबी छ ।

अनिल सुब्बाको निर्देशनमा तयार भएको यस नाटकका निर्देशक अनिल सुब्बा हुन् भने कलाकारहरूमा सौजन सेनेहाङ्ग, शिशिर गिरि, सन्जित थुलुङ, आकाश सुहाङ लिम्बू, नुमा राई र रमिता राई रहेका छन् । नाटकको संगीत पक्ष प्रकृति राईले सम्हालेकी छन् । यस्तै व्यवस्थापन टिममा हिमाल निरौला, विकास श्रेष्ठ, डेभिड बिष्ट, निशान राई, ललिता विश्वकर्मा र सिपि राई रहेका छन् । यो नाटकले विद्यार्थीहरूमा धैर्य, अनुशासन र सहकार्यको भावना विकास गराउँदै, समाजमा एकता र सहिष्णुताको सन्देश प्रवाह गरेको छ ।















Discussion about this post