इटहरी/ आधुनिकताको रङमा रङ्गिदै गर्दा ओझेलमा पर्न थालेको किराँत राई समुदायको मौलिक परम्परा र आस्थालाई फिल्म ‘नाकछोङ’ले पुनर्जीवित गर्ने प्रयास गरेको छ । पिताको निधनपछि उनको ‘आत्मा’लाई बाटो लगाउन अर्थात् मुक्त गर्न छोराले गर्नुपर्ने संघर्षपूर्ण यात्राको कथा बोकेको यस फिल्मको ट्रेलर हालै सार्वजनिक गरिएको छ ।
ट्रेलरले केवल एउटा परम्पराको कथा मात्र भन्दैन, बरु ‘कुलको बिजुवा’ अर्थात् नाक्छोङ बन्ने क्रममा एक छोराले आफ्नो परिवार, बदलिँदो समाज र समयसँग गर्नुपरेको आन्तरिक तथा बाह्य द्वन्द्वलाई शसक्त रूपमा प्रस्तुत गरेको छ । फिल्मका लेखक तथा निर्देशक किरण राईले राई समुदायको मुन्धुम र संस्कारलाई सिनेम्याटिक भाषामार्फत पर्दामा उतारेका छन् । हेर्नुस् ट्रेलर ।
फिल्मका निर्माता ज्योतीराज राईले ‘नाकछोङ’लाई केवल मनोरञ्जनको साधन मात्र नभई एउटा ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गरे । निर्माता राई भन्छन्, ‘‘नाक्छोङ कुनै काल्पनिक पात्र होइन, यो त पुस्तौँदेखि चलिआएको हाम्रो विश्वास, विधि र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो । आफ्नै समुदायले समेत बिर्सन थालेको यो गहिरो सांस्कृतिक चेतना र आत्मिक अनुशासनलाई फिल्मले संवेदनशील ढंगले उजागर गरेको छ।’’
उनले इतिहास ओझेलमा पर्ने खतराबाट बचाउन पनि यो फिल्म महत्त्वपूर्ण रहेको बताए । फिल्ममा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ । यस्तै, तायाहाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई र तुलशा लिम्बुले पनि कथालाई अभिनय मार्फत न्याय गरेका छन् ।
@parikalanewsofficial
प्राविधिक पक्षमा, बाबु श्रेष्ठको छायाङ्कनले राई गाउँको परिवेशलाई सुन्दर ढंगले कैद गरेको छ भने दिनेश काजी वान्तवा र अनिल कोई राईको संगीतले फिल्मको सांगीतिक पक्षलाई बलियो बनाएको छ । नेपालमा सार्वजनिक प्रदर्शनको मिति तय भइनसकेको भए पनि बेलायतका विभिन्न शहरहरूमा ‘नाक्छोङ’को प्रिमियर भव्यताका साथ सम्पन्न भइसकेको छ । छिट्टै नेपाल प्रदर्शनको तयारी गरिरहेको बुझिएको निर्माता ज्योतीराज राईले जानकारी गराए ।














Discussion about this post