इटहरी/ लामो समयपछि फिल्मी पर्दामा देखिएकी अभिनेत्री विपना थापा र अभिनेता पल शाहको मर्मस्पर्शी अभिनय रहेको फिल्म ‘आ बाट आमा’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्देशक चन्द्र पन्तको बहुप्रतिक्षित यस फिल्मको ‘सृष्टिकै पहिलो नाम’ बोलको गीत सोमबार एक भव्य कार्यक्रमबीच दर्शकमाझ ल्याइएको हो ।
सार्वजनिक गीतले फिल्मको मूल कथा अर्थात् आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ । फिल्मकी प्रमुख अभिनेत्री विपना थापा सन्तानको यादमा तड्पिरहेकी एक आमाको भूमिकामा देखिएकी छिन् । यस्तै अभिनेता पल शाह आमा-बुबाको खोजीमा भौतारिरहेको छोराको भूमिकामा प्रस्तुत भएका छन् ।
यता दक्षिण भारतीय फिल्मका चर्चित खलनायक (गजनी भिलेन) प्रदीप रावत पनि भिडियोको मुख्य केन्द्रमा छन् । यसबाहेक भिडियोमा चर्चित स्टोरी टेलर साइग्रेस पोखरेल, सिम्रन पन्त र उषा उप्रेतीलाई पनि देख्न सकिन्छ । रवि ओडको जादुमय स्वर तथा बाबुल गिरीको शब्द र संगीत रहेको यो गीतले दर्शकको मन छुने अपेक्षा गरिएको छ । हेर्नुस् भिडियो ।
निर्देशक चन्द्र पन्त स्वयंको कथा र पटकथा रहेको यस फिल्ममा विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा संवाद अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको रहेको छ भने छायांकन नवराज उप्रेतीको रहेको छ ।
@parikalanewsofficial
फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन् भने संगीत कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम र कोरियोग्राफी गम्भीर विष्ट र दीलिप उखेडाको रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म शहीद दिवसको अवसर पारेर आगामी माघ १६ गते देखि देशभर प्रदर्शनमा आउनेछ । फिल्मको निर्मातामा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना रहेका छन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन् ।














Discussion about this post