इटहरी/ सामाजिक कथावस्तुमा आधारित फिल्महरूबाट पछिल्लो समय चर्चा बटुलेका निर्देशक दिनेश राउत पुनः आफ्नो ‘सिग्नेचर’ जनरा अर्थात् ‘प्योर लभ स्टोरी’ मा फर्किएका छन् । आगामी माघ २३ गते प्रदर्शनको तयारीमा रहेको उनको नयाँ फिल्म ‘कुमारी’ ले प्रचारप्रसारलाई तीव्रता दिँदै एक आकर्षक पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य जोडी अभिषेक खड्का र आकृति राजभण्डारीको प्रेमिल र रोमान्टिक अवतार देख्न सकिन्छ । पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन् । पोस्टरमा पृष्ठभूमिलाई सौम्य र क्लासिक देखाउन सेतो रङ्गको ‘टोन’ प्रयोग गरिएको छ, जसले प्रेमको पवित्रता र सरलतालाई सङ्केत गर्छ । पृष्ठभूमिमा प्रयोग गरिएका ‘वेभ’ हरूले प्रेमी जोडीको मनमा उब्जिएको प्रेमको तरङ्गलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
अभिषेक र आकृतिको आत्मीय सामीप्यले फिल्म पूर्ण रूपमा युवा पुस्ताको प्रेमकथामा आधारित रहेको प्रष्ट पार्छ । पोस्टरसँगै निर्माण पक्षले सांगीतिक सरप्राइजको पनि घोषणा गरेको छ । यसअघि सार्वजनिक ‘कता छौ मेरो फूल’ बोलको गीतले युट्युब र टिकटकमा विशेष गरी ‘जेनजी’ पुस्ताको मन जितिसकेको अवस्थामा, अब नयाँ गीत ‘तिमी बिना’ दर्शकमाझ आउने भएको छ ।

गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ को स्वर रहने यो गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत रिलिज हुनेछ । ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल लभ स्टोरी फिल्म दिएर दर्शकको मन जितेका निर्देशक राउतले बीचमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता गम्भीर सामाजिक विषय उठान गरेका थिए । ‘कुमारी’ मार्फत उनी पुनः प्रेमकथामा फर्कनुले फिल्म क्षेत्रमा विशेष चासो बढेको छ ।
@parikalanewsofficial
भ्यालेन्टाइन डे (प्रणय दिवस) को आसपास रिलिज हुने भएकाले पनि यो फिल्म युवा दर्शकको रोजाइमा पर्ने देखिन्छ । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारी निर्माता र केदार भुसाल कार्यकारी निर्माता रहेका छन् । विकास सुवेदीको कथा तथा पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । फिल्ममा अभिषेक र आकृतिका अलावा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।














Discussion about this post