इटहरी/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको फिल्म ‘झरिपछिको इन्द्रेणी’ को अफिसियल ओएसटीले युट्युबमा नयाँ कीर्तिमान बनाएको छ । आइतबार साँझ सार्वजनिक भएको यो गीतले २४ घण्टा नबित्दै १० लाख भन्दा बढी भ्युज पाउन सफल भएको छ । बुवालाई समर्पित र्याप र महाकविको कविताको फ्युजन यो गीतमा रहेको छ । ‘आम नेपाली बुवा’ शीर्षकको यस गीतमा शब्द र र्याप स्वयं बालेन शाहको रहेको छ ।
उनले यो सिर्जना आफ्ना बुवालाई समर्पित गरेका छन् । गीतमा ‘आम बुवा’हरूको संघर्ष, जिम्मेवारी, र भावनात्मक सम्बन्धलाई समाजको यथार्थसँग जोडेर प्रस्तुत गरिएको छ । यो फिल्मको यस अघि उनको च्यानलबाट सार्वजनिक गरिएको अर्को गीत हटाएर यो गीत सार्वजनिक गरिएको हो । र्यापको आकर्षण कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई समावेश गरिएको छ, जसमा दीक्षा उप्रेतीको सुमधुर गायन सुन्न सकिन्छ ।
भिडियोमा फिल्मका दृश्यहरू समेटिएका छन् । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्म ‘झरिपछिको इन्द्रेणी’ बाट अभिनेता गणेश उप्रेती लामो समयपछि नेपाली रजतपटमा कमब्याक गर्दैछन् । अमेरिकामा रहेका उप्रेती यसै फिल्मको छायांकनका लागि नेपाल फर्किएका थिए । हेर्नुस् भिडियो ।
फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई जस्ता स्थापित कलाकारहरूको अभिनय रहेको छ ।
यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । बाल कलाकार दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।
@parikalanewsofficial
निर्माण कम्पनीका अनुसार, फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन् । निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको यस फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका हुन् । बुद्ध थापा छायांकार रहेको फिल्ममा अनिशा सेन्दाङ लिम्बु निर्मात्री हुन् भने अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माताको रूपमा रहेका छन् । योगेश खतिवडा र विनोद कँडेलले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् । ‘झरिपछिको इन्द्रेणी’ यही पौष ४ गते देशभरिका फिल्म हलहरूमा एकसाथ रिलिज हुँदैछ ।















Discussion about this post