इटहरी/ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका मुख्य अभियन्ता तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बिहीबार एक लामो र भावुक ‘बकपत्र’ सार्वजनिक गर्दै आफू अमेरिका पलायन हुनुको बाध्यात्मक कारण र रंगशाला निर्माणका क्रममा भोगेको सरकारी अकर्मण्यताको फेहरिस्त सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उनको बक पत्रमा उनले रंगशालाको १८ करोड ४३ लाख ऋणको भारी, ५ वर्षदेखि सिंहदरबारमा भोग्नुपरेको सास्ती र छोरीको गम्भीर स्वास्थ्य अवस्थाका कारण अमेरिका जानुपरेको स्पष्ट पारेका छन् । धुर्मुस-सुन्तली जोडी अमेरिका जानुको प्रमुख कारण १३ वर्षीया छोरी सुविहानीको जटिल स्वास्थ्य समस्या रहेको खुलेको छ । धुर्मुसका अनुसार, जन्मेको १६ दिनदेखि मेनेन्जाइटिसको शिकार भएकी छोरीको दाहिने खुट्टाको घुँडाको कुर्कुरे हड्डी संक्रमण (बोन इन्फेक्सन) ले खाइदिएको छ ।
जसका कारण अहिले उनको दाहिने खुट्टा देब्रेभन्दा ७ सेन्टिमिटर छोटो भएको छ । ४ वर्षको उमेरमा स्टिल राखिएको खुट्टाको उपचारमा ढिलाइ हुँदा हिँड्न समस्या भएको र हिप जोइन्टमा समेत असर पर्न थालेको उनले बताएका छन् । नेपाल र भारतमा उपचार सम्भव नभएको र डाक्टरले अमेरिकामा मात्र सुरक्षित उपचार हुने सल्लाह दिएपछि आफूहरू बाध्य भएर अमेरिका गएको उनले उल्लेख गरेका छन् ।
आर्थिक अभावका कारण उपचार सम्भव नभएपछि उनीहरूले ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ (विशिष्ट क्षमता भएका व्यक्तिलाई दिइने भिसा) को माध्यम रोजेका थिए । अमेरिकामा कम आय भएका परिवारका बालबालिकाको निःशुल्क उपचार हुने भएकाले आफूहरूले यो बाटो रोजेको र श्रीमती कुन्जनाको गहना बेचेर टिकट काटेको उनले बताएका छन् ।
@parikalanewsofficial
रंगशाला निर्माणको क्रममा फाउन्डेसनले ६० करोड बराबरको सम्पत्ति राज्यलाई बुझाएको तर १८ करोड ४३ लाख ऋणको दायित्व भने अझै फाउन्डेसनकै नाममा रहेको उनले जनाएका छन् । फाउन्डेसनले ५९ करोड ९० लाख बराबरको भौतिक संरचना र २ करोड ४६ लाख बराबरको स्टक सामग्री भरतपुर महानगरपालिकालाई बुझाइसकेको छ । निर्माण सामग्री उधारो ल्याउँदा १८ करोड ४३ लाख तिर्न बाँकी छ । अदालतमा आपूर्तिकर्ताहरूले हालेका १९ वटा मुद्दा विचाराधीन छन् ।
धुर्मुसले रंगशाला निर्माणको सहमतिदेखि अहिलेसम्म सरकारी पक्षबाट पटक-पटक धोका भएको विस्तृत विवरण दिएका छन् । महायज्ञबाट ६९ करोड कबोल भएकोमा जम्मा ९ करोड ४१ लाख मात्र उठ्यो । बागमती प्रदेशले ३० करोड बोल्दा ३ करोड दियो भने भरतपुर महानगरले १६ करोड बोल्दा ८ करोड मात्र दियो । २०७५ माघ १६ गते प्रधानमन्त्री र दलका शीर्ष नेताहरूको उपस्थितिमा भएको सम्झौतामा ‘स्रोत नजुटे दुवै पक्षको दायित्व हुने’ भनिए पनि संकट पर्दा सरकार पन्छिएको उनको भनाइ छ ।
मन्त्रिपरिषद्ले २०७९ चैतमा १२ करोड दिने निर्णय गर्यो, तर खेलकुद परिषदले सम्झौता नभएको भन्दै रोकिदियो । यस्तै २०८० असारमा अर्थ मन्त्रालयबाट भरतपुर महानगरमा पैसा पुग्यो, तर ‘चिठीको भाषा नमिलेको’ भन्दै महानगरले भुक्तानी दिएन र बजेट फ्रिज भयो । यता चालु आर्थिक वर्षको बजेटमा १५ करोड विनियोजन भए पनि ‘पुल्चोक इन्जिनियरिङ कलेज’ को मूल्यांकन प्रतिवेदन, मन्त्रालयहरूको पत्र र कार्यविधि नमिलेको भन्दै भुक्तानी रोकियो ।
धुर्मुसले भनेका छन्, “५ वर्षमा सिंहदरबारका कति चक्कर काटेँ लेखाजोखा छैन । प्रधानमन्त्री, मन्त्री र सचिवको कोठा चहार्दा चहार्दै रित्तो हात फर्कनुपर्दा म रोएर निस्किएको छु ।” आफूहरूमाथि लागेको ‘ठग’ र अनियमितताको आरोपलाई उनले पूर्ण रूपमा खण्डन गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रसहित सरकारी निकायले आधा दर्जन पटक छानबिन गर्दा पनि कुनै कैफियत नभेटिएको र ‘क्लिन चिट’ पाएको उनले दाबी गरेका छन् ।
उनले प्रश्न गरे, “राज्यले सम्पत्ति सकार्न मिल्ने, गौरवको आयोजना भन्न मिल्ने तर त्यसको दायित्व (ऋण) सकार्न नमिल्ने यो कस्तो कानुन हो ?” अमेरिकामा आफूहरूको कुनै व्यवसाय वा लगानी नरहेको स्पष्ट पार्दै धुर्मुसले ‘भगौडा’ को आरोप निराधार रहेको बताएका छन् । “हामी भागेका होइनौँ, छोरीको उपचारका लागि मात्र आएका हौँ । उपचार सकिएपछि नेपाल फर्किनेछौँ,” उनले भनेका छन् । बकपत्रको अन्त्यमा उनले सरकारसँग एउटै माग राखेका छन्, “रंगशालाको उधारो तिरिदिएर हामीलाई ऋणमुक्त बनाइयोस्, ताकि हामी नेपाल फर्किएर पुनः कलाकारितामा रम्न सकौँ ।”















Discussion about this post