इटहरी/ पछिल्लो समय काठमाडौंको माइतीघर मण्डलामा देखिएको ‘जेनजी’ को आन्दोलनले जसरी सडक तताएको थियो, अब ठ्याक्कै त्यस्तै कथा फिल्मको पर्दामा पनि देखिने भएको छ । चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले देशको बेथिती र भ्रष्टाचारविरुद्ध युवाहरूको विद्रोहको कथा बोल्ने भएको हो ।
आइतबार काठमाण्डौंमा आयोजित एक विशेष समारोहका बीच फिल्मको २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले वर्तमान नेपाली समाज, विशेषतः युवा पुस्ताको निराशा र आक्रोशलाई नजिकबाट चित्रण गरेको छ । ट्रेलरले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सपना बोकेको एक युवाको संघर्षलाई मुख्य विषय बनाएको छ । सपना र रहरहरू जब प्रणाली, भ्रष्टाचार र बेथितीको चपेटामा पर्छन्, तब एउटा सामान्य युवा कसरी विद्रोही बन्छ भन्ने कुरा ट्रेलरमा शसक्त ढंगले प्रस्तुत गरिएको छ । हेर्नुस् ट्रेलर ।
माइतीघर मण्डलाबाट सुरु भएको आन्दोलनको दृश्यले दर्शकलाई केही समय अगाडि नेपालमा भएको वास्तविक ‘जेनजी’ आन्दोलनको झल्को दिन्छ । यद्यपि, यो समानता संयोग मात्र भएको निर्देशक घिमिरे बताउँछन् । “हाम्रो फिल्मको छायांकन हालैका आन्दोलनहरू हुनुभन्दा अगाडि नै सकिएको हो । कथावस्तु र वास्तविकता मिल्नु संयोग मात्र हो,” निर्देशक पाँडेले प्रष्ट पारे ।
गणेश उप्रेतीको कमब्याक र नयाँ अनुहारको डेब्यु
नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले लामो अन्तरालपछि अभिनयमा कमब्याक गरेका छन् । फिल्मकै लागि उनी अमेरिकाबाट नेपाल फर्किएका हुन् । फिल्ममा गणेशका साथै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राई जस्ता अनुभवी कलाकारहरूको अभिनय छ ।
@parikalanewsofficial
यसै फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले नेपाली फिल्ममा डेब्यु गर्दैछन् भने बाल कलाकारका रूपमा दिप्सन चिलवाल देखिएका छन् । निर्देशक स्वयं अर्जुन घिमिरे पनि अभिनयमा देखिनेछन् । आगामी पौष ४ गते देखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो फिल्मको कथा निर्देशक घिमिरे आफैंले लेखेका हुन् ।
पटकथा र संवादमा भने उनलाई गणेश कार्की र विशाल घिमिरेले सघाएका छन् । बुद्ध थापाले छायांकन गरेको फिल्मको एक विशेष गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको नृत्य देख्न सकिन्छ । अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माताका रूपमा छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी योगेश खतिवडा र विनोद कँडेलले सम्हालेका छन् ।















Discussion about this post