इटहरी/ अभिनेता दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहेको प्रतिक्षित फिल्म ‘मिरमिरे’को टिजर शुक्रवार सार्वजनिक गरिएको छ । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले आगामी माघ १ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै प्रचारको थालनी गरेको हो ।
सार्वजनिक टिजरले फिल्म पूर्णतः ‘इमोस्नल ड्रामा’ रहेको सङ्केत गरेको छ । टिजरको केन्द्रमा अभिनेता दयाहाङ राई छन्, जो यसपटक एक जिम्मेवार पिताको भूमिकामा देखिएका छन् । आमाको अनुपस्थितिमा आफ्नी छोरी (शाइसा गौचन) को लालनपालन, शिक्षा र खुशीका लागि एक बुवाले गर्ने सङ्घर्षलाई टिजरमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । हेर्नुस् टिजरमा ।
छोरीको स्कुलमै काम गर्ने र उनलाई आमाको अभाव महसुस हुन नदिन तल्लिन दयाहाङको अभिनयले दर्शकको मन छुने देखिन्छ । पारिवारिक कथासँगै टिजरले त्रिकोणात्मक प्रेमको रहस्य पनि छोडेको छ । फिल्ममा नव-अभिनेत्री सिर्जना निङलेखु स्कुलकी शिक्षिकाको भूमिकामा छिन् । टिजरका केही संवाद र दृश्यहरूले सिर्जना, दयाहाङ राई र प्रकाश सपूतबीच त्रिकोणात्मक प्रेम सम्बन्ध रहेको छनक दिएको छ ।
प्रकाश र दयाहाङबीचको यो ‘अनस्क्रिन’ केमेस्ट्री दर्शकका लागि सरप्राइज प्याकेज बन्न सक्छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनाका अलावा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
@parikalanewsofficial
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’मा आरआर फिल्मसका सञ्चालक रोहित कट्टेल कार्यकारी निर्माताका रूपमा रहेका छन् । यस्तै, गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माता हुन् । फिल्मको लाइन प्रोड्युसरमा वीरेन्द्र शाही, मुख्य सहायक निर्देशकमा सुदिप कुँवर, मेकअपमा सञ्जु थलाङ लिम्बु र निर्माण नियन्त्रकमा दिलीप पन्त छन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।















Discussion about this post