ईटहरी/ लामो समयदेखि प्रतीक्षामा रहेको पारिवारिक सामाजिक कथामा आधारित फिल्म ‘हर्ष’ आज शुक्रबार बाट देशभर प्रदर्शनमा आएको छ । नव-निर्देशक एकता पौडेलको डेब्यु निर्देशन रहेको यो फिल्मले रिलिजको पहिलो दिन बिहानी शोहरूमा दर्शकको राम्रो साथ पाएको छ । देशभर करिब १०० वटा शोसहित प्रदर्शन प्रारम्भ गरेको ‘हर्ष’ ले शुक्रबार बिहानैबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।
यसअघि बुधबार आयोजित प्रिमियर शोमा सहभागी फिल्मकर्मी र अतिथिहरूले हर्षको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यो फिल्मको सबैभन्दा बलियो पक्ष यसको कथावाचन शैलीलाई मानिएको छ । निर्देशक एकता पौडेल, नेपाली फिल्म क्षेत्रका दिग्गज स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । प्रिमियर शोमा सहभागी धेरैले ‘हर्ष’ हेर्दा शिव रेग्मीकै फिल्मको झझल्को आएको प्रतिक्रिया दिएका थिए, जसले निर्देशक पौडेललाई थप उत्साहित बनाएको छ ।
न्युयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङको अध्ययन गरेकी एकताले यसअघि केही छोटा फिल्महरू निर्माण गरिसकेकी छिन् । आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्व विषयमा स्नातकोत्तर गरेकी पौडेलको यो पहिलो फिचर फिल्म हो । फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन् । फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् भने उनीहरूसँगै दिग्गज कलाकारहरू निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, लुनिभा तुलाधर, निमा पाण्डे लगायतले साथ दिएका छन् ।
@parikalanewsofficial
साथै, बालकलाकार साइमन वादीको पनि विशेष भूमिका रहेको छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्ममा प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेका छन् । प्राविधिक पक्षतर्फ आलोक शुक्लाको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । फिल्ममा समीर, हिमाल, बसन्त सापकोटा र एलिश कार्कीको संगीत सुन्न सकिन्छ भने कोरियोग्राफी सुनिल क्षेत्री र निर्देशक पौडेलले गरेका छन् ।















Discussion about this post