
इटहरी/ चर्चित नेपाली अभिनेता अनुप विक्रम शाहीले आफ्नो बहुप्रतिक्षित बलिउड डेब्यु फिल्म ‘ब्याटल अफ गलवान’को छायांकन सम्पन्न गरेका छन् । भारतीय मेगास्टार सलमान खानसँग स्क्रिन शेयर गर्ने अवसर पाएका शाहीले छायांकन सकिएपछि सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफ्नो अनुभव सार्वजनीक गरेका छन् ।
सार्वजनीक स्टाटसमा अनुपले सलमान खानसँग काम गर्न पाउनु आफ्नो जीवनको एउटा चक्र पूरा हुनु सरह भएको बताएका छन् । उनले लेखेका छन्, ‘ब्याटल अफ गलवान को सुटिङ सकियो ! सानोमा उनलाई पर्दामा हेर्दै हुर्कनुदेखि लिएर अहिले एक दिग्गज, सर्वकालीन महान र मैले भेटेका सबैभन्दा दयालु व्यक्तिसँग सँगै काम गर्न पाउनुसम्म । जीवनको एउटा चक्र साँच्चिकै पूरा भयो, र मेरो भित्री बाल-मन योभन्दा बढी खुसी हुन सक्दैनथ्यो ।’

शाहीले अन्त्यमा, ‘यो अविस्मरणीय अध्याय र उनको प्रतिभा मात्र होइन, उनको हृदय पनि देख्न पाएको मौकाका लागि आभारी छु । भन्दै लेखेका छन् । यो फिल्म सन् २०२० मा भारत र चीनबीचको सीमा क्षेत्र गलवान उपत्यकामा भएको हिंसात्मक झडपको वास्तविक घटनामा आधारित छ । अपूर्व लाखियाद्वारा निर्देशित यस फिल्ममा सलमान खानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् ।

@parikalanewsofficial
फिल्ममा अनुप विक्रम शाहीले पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन्, यद्यपि उनको भूमिकाको विस्तृत विवरण भने निर्माण पक्षले गोप्य राखेको छ । नेपाली फिल्म क्षेत्रमा एक्सन हिरोको छवि बनाएका र रियालिटी शो ‘हिमालय रोडिज’ मार्फत युवा पुस्तामाझ लोकप्रिय अनुपको यो बलिउड यात्रालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
बलिउडका ‘भाइजान’ मानिने सलमान खानको होम प्रोडक्सन सलमान खान फिल्मसको ब्यानरमा बन्ने ठूलो बजेटको यो फिल्ममा नेपाली कलाकारले स्थान पाउनु सिङ्गो नेपाली फिल्म क्षेत्रका लागि गर्वको विषय हो । फिल्मको प्रदर्शन मिति भने औपचारिक रूपमा घोषणा भइसकेको छैन, तर यसले बक्स अफिसमा ठूलो हलचल ल्याउने अपेक्षा गरिएको छ ।















Discussion about this post