इटहरी/ प्रदर्शनको तेस्रो सातामा पनि दर्शकको बाक्लो उपस्थिति सहित प्रदर्शन भइरहेको फिल्म ‘मन बिनाको धन’ ले दर्शकका लागि विशेष योजना सार्वजनिक गरेको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस फिल्मले आज (मंसिर १० गते) जन्मदिन पर्ने दर्शकलाई निःशुल्क फिल्म देखाउने घोषणा गरेको हो । फिल्मको ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्ने सन्दर्भमा निर्माण पक्षले यो अफर ल्याएको हो ।
निर्देशक टंक बुढाथोकीका अनुसार, आज जन्मदिन पर्ने दर्शकले सुरुमा टिकट काटेर फिल्म हेर्नुपर्नेछ । फिल्म हेरिसकेपछि निर्माण टिमलाई सम्पर्क गरेमा टिकटको पैसा फिर्ता गरिने व्यवस्था मिलाइएको छ । फिल्मको प्रचारलाई थप बल पुर्याउन आजै ‘ह्याप्पी बर्थडे’ बोलको नयाँ गीत पनि रिलिज गरिएको छ । टंक बुढाथोकीको शब्द, संगीत र एरेन्ज रहेको उक्त गीतमा टंक स्वयं सहित मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर सुन्न सकिन्छ ।
प्रदर्शनको २० औं दिनमा चलिरहँदा ‘मन बिनाको धन’ ले बक्स अफिसमा लोभलाग्दो व्यापार गरेको छ । निर्माण पक्षका अनुसार फिल्मले हालसम्म ३ करोड ६० लाख रुपैयाँ भन्दा बढी कलेक्सन गरिसकेको छ । अशोक दर्जीको वास्तविक जीवन सँग मिल्दोजुल्दो कथावस्तु भएकाले दर्शकहरू फिल्म हेर्दै भावुक बनेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्मले रुचाएको यो फिल्म हेर्न अहिले विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई हलसम्म लगिरहेका छन् ।
@parikalanewsofficial
गुरु-शिष्य सम्बन्ध, पारिवारिक मूल्यमान्यता र कर्तव्यबोध जस्ता विषयवस्तु समेटिएकोले फिल्म शैक्षिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिएको छ । यसअघि नै निर्माण टिमले विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा गरिसकेको थियो । टंक बुढाथोकीको लेखन तथा निर्देशन रहेको यस फिल्ममा अशोक दर्जीका साथै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, बुद्धि तामाङ, रबिन्द्र झा, रमा थपलिया, रक्षा श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता मिनु शर्मा (सपना) हुन् भने विष्णुमाया मैनाली निर्माता रहेकी छिन् ।















Discussion about this post