इटहरी/ प्रदर्शनमा आएको एक दिन नबित्दै ‘लडाइँ पहिचानको’ फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ । निर्माण कम्पनी ‘भीम लामा फिल्म्स’ले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्य पक्षबाट भएको अनावश्यक हस्तक्षेप र सेन्सर बोर्डको कडाइका कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको जनाएको छ । फिल्मका लेखक तथा निर्देशक भीम लामाका अनुसार फिल्मको मूल कथावस्तुमा राज्यका तर्फबाट अनावश्यक हस्तक्षेप भएको छ ।
विज्ञप्तिमा भनिएको छ, “महत्वपूर्ण दृश्य र अंशहरूमा ‘कैंची’ लगाउन बाध्य पारिएकाले कथाको सार, प्रवाह तथा पूर्णता प्रभावित हुने अवस्था देखियो ।” कोशी प्रदेशको नामाङ्कनपछि उठेको पहिचानवादी आन्दोलन र त्यसको सेरोफेरोमा आधारित यो फिल्मको मूल मर्म नै मर्नेगरी दृश्यहरू काट्न लगाइएपछि निर्माण पक्ष असन्तुष्ट बनेको थियो । मंसिर ५ गते रिलिज गर्ने पूर्व निर्धारित मिति र दर्शक माझ गरिएको वाचा पूरा गर्न काँटछाँट सहितको फिल्म हलमा पठाइए पनि, त्यसले सही सन्देश दिन नसक्ने महसुस भएपछि प्रदर्शन रोक्ने कठोर निर्णय लिइएको हो ।

करिब १ करोडको लगानीमा निर्माण भएको यो फिल्मले पूर्वी नेपालमा चर्किएको ‘नो कोशी’ आन्दोलन र पहिचानको लडाइँलाई मुख्य विषयवस्तु बनाएको छ । फिल्ममा इन्डियन आइडल विजेता प्रशान्त तामाङ पहिचानवादी नेताको भूमिकामा देखिएका छन् भने करिश्मा मानन्धर सञ्चारकर्मीको भूमिकामा प्रस्तुत भएकी छन् । यस्तै धीरेन शाक्य प्रहरी प्रमुखको भूमिकामा देखिएका छन् । प्रेम सुब्बा, जेनी घिसिङ, र सुरवीर पण्डित पनि प्रमुख भूमिकामा देखिएका छन् ।

@parikalanewsofficial
निर्माण टिमले फिल्मलाई पूर्ण रूपमा बन्द गरेको नभई यसलाई थप परिमार्जन गरेर ल्याउने जनाएको छ । विज्ञप्ति अनुसार, “निर्माण टिमले फिल्ममा आवश्यक पुनसंरचना, थपघट तथा विषयवस्तुको परिमार्जन गरी दर्शकले सही सन्देश पाउने ढङ्गले चलचित्रलाई अझ सशक्त, सुस्पष्ट र पूर्णरूपमा पुनः प्रस्तुत गर्ने प्रतिबद्धता प्रकट गर्दछ ।”

एकाएक प्रदर्शन रोक्नु पर्दा दर्शक वर्गमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ । विज्ञप्तिमा निर्देशक भीम लामासहित निर्माताहरू रामजी बिष्ट, दिलु सुब्बा र उमेश तामाङले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् भने कलाकारहरूले पनि यसमा सहमति जनाएका छन् । भीम लामा फिल्म्सको ब्यानरमा निर्माण भएको यो एक्सन-ड्रामा विधाको फिल्मले ट्रेलर रिलिज भएदेखि नै राजनीतिक र सामाजिक वृत्तमा चर्चा बटुलेको थियो । अब यो फिल्म कहिले र कस्तो स्वरूपमा पुनः प्रदर्शनमा आउँछ, त्यो भने हेर्न बाँकी छ ।
















Discussion about this post