इटहरी/ बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’ले प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा बक्स अफिसमा उत्साहजनक नतिजा निकालेको छ । करिब साढे तीन करोडको ग्रस कलेक्सन गर्दै यो फिल्मले व्यावसायिक सफलता र दर्शकको अपार माया दुवै बटुल्न सफल भएको छ ।
दर्शकको उच्च चाप र सकारात्मक प्रतिक्रियाका बीच निर्माण पक्षले अब देशैभरका विद्यालय र विद्यार्थीहरूलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । अशोक दर्जीको वास्तविक जीवनको सङ्घर्ष, कथा र गुरु चेलाको भावनात्मक कथा बोल्ने यो फिल्मले दर्शकलाई गहिरो रूपमा छोएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा दर्शकले अशोकलाई अँगालो हालेर रोएको र हलबाट निस्कँदा आँखा पुछ्दै गरेको दृश्य देख्न सकिन्छ ।

रोचक कुरा के छ भने, फिल्म हेर्न ‘जेनजी’ (नयाँ पुस्ता) देखि ज्येष्ठ नागरिकसम्मको बाक्लो उपस्थिति देखिएको छ । स्कुले विद्यार्थी र अभिभावकहरू सँगै बसेर फिल्मको आनन्द लिइरहेका छन् । फिल्मले उठाएको ‘गुरु–शिष्य’ सम्बन्ध र कर्तव्य बोधको विषयवस्तु हरेक विद्यार्थीले हेर्नुपर्ने खालको भएको भन्दै निर्देशक टंक बुढाथोकीले विद्यालयहरूका लागि ‘विशेष अफर’ ल्याएका छन् ।
@parikalanewsofficial
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक बुढाथोकीले भनेका छन्, “गुरु र चेला बीचको सम्बन्ध र कर्तव्यलाई विशेष रूपमा उजागर गरेको हाम्रो फिल्म सबै गुरु र विद्यार्थीहरूले हेर्नैपर्ने बनेको छ । त्यसैले भोलिबाट फिल्म हेर्न चाहने देशैभरिका विद्यालयलाई हामी सकेसम्म सहयोग र छुट दिन तयार छौँ ।” यसका लागि विद्यालय प्रशासनले आफूलाई सिधै फोन सम्पर्क गर्न सक्ने व्यवस्था पनि उनले मिलाएका छन् ।
सामाजिक सन्देशसहितको पारिवारिक प्याकेज
फिल्मले मनोरञ्जन मात्र नभई पारिवारिक मूल्य, कर्तव्य र शिक्षाको महत्वजस्ता सामाजिक पक्षलाई बलियो ढङ्गले प्रस्तुत गरेको छ । यही सन्देशका कारण फिल्म तेस्रो सातामा पनि दर्शकको रोजाइमा परेको हो । फिल्ममा अशोक दर्जीका साथै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, बुद्धि तामाङ, रबिन्द्र झा, रमा थपलिया, रमेश विश्वकर्मा, भोला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको लेखन, निर्देशन र सङ्गीत टंक बुढाथोकी, पटकथा तथा संवाद शिवम अधिकारी को रहेको छ भने निर्माता विष्णुमाया मैनाली र कार्यकारी निर्माता मिनु शर्मा (सपना) हुन् । यो फिल्मको छायांकन सौरभ लामाले गरेका हुन् भने कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मले विद्यालय लक्षित योजना ल्याएसँगै चौथो सातामा पनि बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
















Discussion about this post