इटहरी/ नेपाली फिल्मका लागि एक ऐतिहासिक फड्को मार्दै सुपरहिट फिल्म ‘ऊनको स्वीटर’को भारतको सिक्किमस्थित गान्तोकमा भव्य प्रिमियर सम्पन्न भएको छ । नेपाली भाषी समुदायमाझ एकताको सन्देश बोकेको यो फिल्मले भारतका प्रमुख १४ हलहरूमा प्रदर्शनको सुरूवात गरिसकेको छ ।
गान्तोकको पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा आयोजित प्रिमियरमा सिक्किम राज्यका प्रतिष्ठित व्यक्तित्वहरू, कलाकार तथा दर्शकहरूको उत्साहजनक उपस्थिति थियो ।
प्रिमियर शो खुल्ने बित्तिकै टिकट बिक्रीमा देखिएको अग्रिम बुकिङले फिल्मको बलियो व्यापारिक सम्भावनाको सङ्केत दिएको छ । प्रिमियरमा पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई प्रमुख अतिथिको रूपमा उपस्थित रहिन् । यस्तै सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पा लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपालबाट भने अभिनेता विपिन कार्की, गायक सुजन चापागाईँ, निर्देशक नवीन चौहान, कलाकार भावना खपांगी मगर, डीओपी चिन्तन राज भण्डारी, सम्पादक कृष्ण भण्डारी र निर्माताहरूसहितको टिम सहभागी भएको थियो । प्रमुख अतिथि कृष्णा कुमारी राईले फिल्मको उच्च प्रशंसा गर्दै भौगोलिक र राजनीतिक सीमाले फरक पारे पनि नेपाली भाषीहरूको भावना, संस्कृति र परम्परा एकै भएको सन्देशले आफूलाई गहिरो रूपमा छोएको बताइन् ।
@parikalanewsofficial
“एसली प्रोडक्सनले नेपाली भाषीहरूबिचको एकता झल्काउने यस्तो मिठो फिल्म सिक्किममा ल्याएकोमा धन्यवाद दिन चाहन्छु,” राईले भनिन् । उनले सिक्किम सरकारले नेपाली भाषाका फिल्मलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिन् र ‘ऊनको स्वीटर–२’ हेर्ने चाहना व्यक्त गरिन् ।
निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ यो फिल्म प्रस्तुत गर्न पाउनु गर्वको कुरो भएको बताए । उनले भारतभरका नेपाली भाषी दर्शकको साथले भविष्यमा अझै राम्रा नेपाली फिल्म नियमित रूपमा रिलिज हुने मार्ग खुलेको विश्वास व्यक्त गरे । दर्शकहरूले पनि सिक्किममा पहिलो पटक यति भव्य प्रिमियर हेर्न पाएकोमा खुसी र आश्चर्य व्यक्त गरे । एक दर्शकले प्रतिक्रिया दिए, “नेपालमा यति उत्कृष्ट फिल्म बन्ने रहेछ भन्ने कल्पना थिएन । भारतमा यसको भविष्य व्यापक देखिन्छ ।”
‘ऊनको स्वीटर’ आज (शुक्रबार) देखि भारतका १४ प्रमुख फिल्म हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ । दार्जिलिङको एसभिएफ सिनेमा, कर्स्याङको फन्टाजी सिनेमा, नाम्चीको इम्पेरियल सिनेमा, गान्तोकको डेन्जोङ, वज्र, आइएनओएक्स र सिलिगुडीको सिनेमा सिटी सेन्टर, वेगा सर्कल, एग्रोपोलिस, साउथ सिटी सिनेमा मा यो फिल्म प्रदर्शन सुरु भएको छ । नयाँ दिल्ली र असाम लगायतका स्थानहरूमा भने आगामी हप्ता रिलिज हुने वितरक कम्पनी एसली प्रोडक्सनले जनाएको छ ।
गायक सुजन चापागाईँ, निर्देशक नवीन चौहान, अभिनेता–अभिनेत्रीसहितको टोलीले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ र कालिम्पोङका हलहरूमा प्रत्यक्ष दर्शकसँग भेटघाट गर्ने कार्यक्रमसमेत तय भएको छ । वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ करिब ४० हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो । निर्देशक नवीन चौहानद्वारा लिखित तथा निर्देशित यो फिल्मले नेपाली समाजका वास्तविक कथा, सशक्त अभिनय र मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पायो ।
नेपालमा करिब १२ करोड रुपैयाँ कमाएर सफल फिल्म बनेको ‘ऊनको स्वीटर’ ले भारतमा पनि सोही लोकप्रियता दोहोर्याउने अपेक्षा गरिएको छ । यो फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको गीत सुजन चापागाईँले गाएका छन् भने कोविद बज्रले सङ्गीत निर्देशन, चिन्तन राज भण्डारीले छायाङ्कन र कृष्ण भण्डारीले सम्पादन तथा रङ्ग संयोजन गरेका छन् ।
















Discussion about this post