इटहरी/ पारिवारिक र भावनात्मक कथामा बनेको नेपाली फिल्म ‘किन लाग्छ माया’ले आफ्नो फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पक्का गरेको छ । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म आउँदो चैत्र ६ गतेदेखि नेपालसहित विश्वभर एकैसाथ रिलिज हुने भएको छ ।
सार्वजनिक गरिएको पहिलो पोष्टरमा मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ, जसले फिल्मको मूड र कथावस्तुको संकेत दिन्छ । सन्जीत भण्डारी र मोनु खड्काको निर्माणमा तथा कुवेर तामाङको निर्देशनमा बनेको फिल्ममा कलाकारहरूको ठूलो टोली छ ।

फिल्ममा मुख्य कलाकारसँगै धिरेन शाक्य, पवित्रा साकी (मिस पबी), हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकालदेखि लिएर राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा र दर्जनौँ कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीले अभिनय गरेका छन् ।
म्यूजिक भिडियोमा सक्रिय कलाकार सेडो रियलले यसै फिल्मबाट डेब्यू गरेका छन् । फिल्मको कथा पनि सेडो रियलकै अवधारणामा आधारित रहेको उल्लेख गरिएको छ । पटकथा र संवाद रामकाजी घिमिरेको लेखनमा तयार भएको हो । फिल्ममा एक्शन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुस्कर सुनुवार र राजेन्द्र बजगाँई, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा र अभि वाग्लेले गरेका छन् ।
@parikalanewsofficial
यस्तै फिल्मको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने पोस्टर डिजाइन राकेश दाहाल, निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल, मुख्य सहायक निर्देशक रामशरण कोइराला छन् ।फिल्मले दाजुभाइबीचको मित्रता र जिम्मेवारीदेखि लिएर वैवाहिक सम्बन्धपछि विकसित हुने प्रेम, त्याग र पारिवारिक भावनालाई केन्द्रमा राखेको छ । सामाजिक तथा पारिवारिक कथावस्तुमा निर्मित भएकाले यो फिल्मले दर्शकमाझ राम्रो प्रभाव पार्ने विश्वास निर्माण पक्षको छ ।















Discussion about this post