इटहरी/ सामाजिक मुद्दालाई प्रभावकारी ढङ्गले उठान गरेको भन्दै राष्ट्रिय दलित आयोगले भोलिदेखि तेस्रो सातामा प्रवेश गर्न लागिरहेको नेपाली फिल्म ‘मन बिनाको धन’लाई औपचारिक शुभकामना दिएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै फिल्मले जातीय छुवाछुतजस्ता कुप्रथाविरुद्ध सशक्त आवाज उठाएको उल्लेख गर्दै निर्माण टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।
बालगायक अशोक दर्जी मुख्य भूमिकामा रहेको यो फिल्मले गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध र सामाजिक शिक्षाको महत्वलाई सरल तर गहिरो शैलीमा प्रस्तुत गरेको छ । फिल्मले समाजमा चेतना अभिवृद्धि गर्ने स्पष्ट क्षमता देखाएको आयोगको भनाइ छ ।
नेपाली बक्स अफिसमा १३ दिनमा तीन करोडभन्दा बढी कमाइ गर्दै उत्कृष्ट व्यापारिक सफलता हासिल गरेको ‘मन बिनाको धन’ अहिले नेपालसँगै कतार, युएई र बहराइनमा प्रदर्शन भइरहेका छन् । यसै क्रममा मंसिर १३ गतेबाट अष्ट्रेलियामा पनि रिलिज हुने तयारी गरिएको छ । छिट्टै साउदी अरब, कोरियालगायतका देशमा समेत प्रदर्शन हुने फिल्म यूनिटले जनाएको छ ।
@parikalanewsofficial
कलाकारसँग भेटघाटका क्रममा दर्शकले देखाएको भावनात्मक प्रतिक्रिया समेत सामाजिक सञ्जालमा व्यापक बनेको छ । काठमाण्डौदेखि बाहिरी जिल्लासम्म, अशोक दर्जीलाई भेट्दा दर्शकले अँगालो मार्दै रुँदै स्वागत गरेको दृश्यहरू भाइरल भइरहेका छन् । सर्लाही पुगेका कलाकार अशोक दर्जी र रमेश विश्वकर्मालाई पञ्चे बाजा र दुबोको मालासहित विशेष सम्मान गरिएको थियो ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोललगायतको अभिनय छ ।
फिल्मको निर्माण र निर्देशन टंक बुढाथोकीले गरेका हुन् । कथा पनि बुढाथोकीले नै लेखेका हुन् भने पटकथा–संवाद शिवम अधिकारीको हो । विष्णुमाया मैनालीले निर्माण गरेको फिल्ममा मिनु शर्मा (सपना) कार्यकारी निर्माताका रूपमा रहेका छन् । सहनिर्मातामा जीपी संग्रोला, विवेक नेपाल र बिजया पाण्डे छन् । क्रियटिभ निर्देशन टिकाराम बुढाथोकीले सम्हालेका छन् ।















Discussion about this post