इटहरी/ गायक तथा अभिनेता प्रकाश सपूत र अभिनेता दयाहाङ राईको पहिलो पटकको सहकार्य रहेको प्रतिक्षित फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यम शेर्पाको निर्देशनमा तयार भएको यस फिल्मले रिलिज मिति तोकेको केही समय पश्चात दुई आकर्षक पोस्टरहरू सार्वजनिक गरेको छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’का यी पोस्टरहरूले फिल्मका मुख्य पात्रहरूको सम्बन्ध र कथाको पृष्ठभूमि प्रस्ट्याउँछ ।
सार्वजनीक पहिलो पोष्टरमा वियोगको भाव र बाबुको जिम्मेवारीलाई चित्रित गरिएको छ भने सो पोष्टरमा अभिनेता दयाहाङ राई र बाल-कलाकार शाइसा गौचन फिचर्ड छन् । पोस्टरमा उनीहरू मधुरो प्रकाश र पहाडी पृष्ठभूमिको बीचमा छन् । दुवै पात्र केही तनावमा रहेको, कसैको पर्खाइ वा वियोगमा डुबेको देखिन्छ ।

उक्त पोस्टरको दृश्यले दयाहाङलाई शाइसाको बुवाको भूमिकामा देखाउँछ, जो छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको प्रतीत हुन्छ । यस्तै, दोस्रो पोस्टरमा भने गायक तथा अभिनेता प्रकाश सपूत र अभिनेत्री सिर्जना निङलेखु लाई देखाइएको छ । सो पोस्टरमा प्रकाशलाई विद्यार्थी र सिर्जनालाई शिक्षिकाको भेषमा देखाइएको छ । सिर्जना मन्द मुस्कानमा छिन् भने प्रकाशले मज्जाको हाँसो पस्केका छन् ।

निर्माणपक्षले यी दुईबीचको सम्बन्ध शिक्षक-विद्यार्थीको मात्रै हो वा प्रेमि-प्रेमिकाको पनि हो भन्ने कुरा स्पष्ट पारेको छैन । यद्यपि उमेरको हिसाबले भने प्रकाश सिर्जनाकै विद्यार्थी हुन् भन्न सकिने अवस्था देखिँदैन, जसले सम्बन्धमा थप रहस्य थपेको छ ।

‘मिरमिरे’ मा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुसँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । बाल-कलाकारमा शाइसा गौचनसँगै दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले अभिनय गरेका छन् । फिल्मको निर्देशन र कथा यम शेर्पा स्वयमले लेखेका हुन् । यमले दयाहाङसँग यसअघि आफ्नो पहिलो निर्देशन रहेको ‘कार्साङ’ मा पनि सहकार्य गरिसकेका छन् ।
@parikalanewsofficial
फिल्मलाई आलोक शुक्लाले छायाङकन गरेका छन् भने निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेका छन् । यस्तै गोविन्द बोहरा र सुदिप कुँवर फिल्मको सह-निर्माता हुन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेल रहेका छन् । यो फिल्मको देशभरको वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।

















Discussion about this post