इटहरी/ अभिनेत्री नीति शाहले हालै सञ्चारमन्त्री जगदीश खरेलको उपस्थीतीमा भएको एक छलफल कार्यक्रममा राखेको भनाइलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भएपछि त्यस विषयमा लामो स्पष्टीकरण दिएकी छन् । आफ्नो भनाइको गलत व्याख्या भएको र यसलाई मजाकको रूपमा लिइएको भन्दै उनले महिला कलाकारहरूको आधारभूत सुविधाको मागलाई पुनर्स्थापित गर्ने प्रयास गरेको बताएकी छन् ।
अभिनेत्री शाहले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको निमन्त्रणामा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको तर्फबाट आयोजित ‘नेपाली चलचित्र उद्योगका समस्या, अवसर र सुधारका उपायबारे छलफल’ कार्यक्रममा आफूले आफ्नो अनुभव राखेको बताएकी छन् । उनले भनिन्, “केहीले मैले बोल्ने विषय उपयुक्त थिएन भने, तर म स्पष्ट भन्न चाहन्छु… त्यो नै सही समय र ठाउँ थियो ।” नीतिलाई त्यहा उद्योगका समस्या र सुधारका विषयमा बोल्न नै बोलाइएको थियो ।

उनले काठमाडौं बाहिर छायांकनका क्रममा भारतीय मोडेलसँग काम गर्दा भोगेको अनुभव सुनाएकी थिइन्, जहाँ वाशरूम वा भ्यानिटी भ्यान नहुँदा उनीहरूले टिमको भाडाको बसभित्रै कपडा फेर्नुपरेको थियो । उनको भनाइको मुख्य उद्देश्य नेपाली फिल्म र म्युजिक भिडियो छायांकनमा महिला कलाकारहरूका लागि सफा शौचालय र निजी रूपमा कपडा फेर्ने सुरक्षित स्थान (भ्यानिटी भ्यान) जस्ता आधारभूत सुविधाको अभाव देखाउनु थियो ।
@parikalanewsofficial
उनले मन्त्री जगदीश खरेलसमक्ष निजी निर्माण कम्पनीहरूले यस्ता सुविधा खरिद गर्न सकून् भनेर सरकारी करमा छुट दिने व्यवस्थाका लागि सुझाव दिएको उल्लेख गरेकी छन् । मन्त्री खरेलले यस विषयमा विचार गर्ने आश्वासन दिएको उनको भनाइ छ । “सफा शौचालय र निजी रूपमा कपडा फेर्ने सुरक्षित स्थान कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो,” नीति शाहले जोड दिएकी छन् । उनले कलाकारले काम गर्ने वातावरण सुरक्षित, सम्मानजनक र सहज बनाउनु उद्योगको जिम्मेवारी भएको स्पष्ट पारेकी छन् ।
नीति शाहले मन्त्रीसमक्ष भ्यानिटी भ्यानको माग राखेको खबर बाहिरिएपछि सामाजिक सञ्जालमा दुई पक्षीय बहस सिर्जना भएको थियो । गायिका ज्योति मगरलगायत केहीले उनको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै व्यंग्यात्मक प्रतिक्रिया दिएका थिए । मगरले आम नेपालीले सिटामोल र आधारभूत शिक्षा नपाएको बेला भ्यानिटी भ्यान जस्तो विलासिताको माग गर्नु सान्दर्भिक नभएको आशय व्यक्त गरेकी थिइन् ।
यद्यपि, धेरैजसोले महिला कलाकारको सुरक्षा, गोपनीयता र पेशागत मर्यादासँग जोडिएको उनको मागलाई आधारभूत आवश्यकताको रूपमा लिँदै समर्थन गरेका छन् । शाहले आफ्नो स्पष्टीकरणमा ‘धेरै महिलाले यस्ता समस्या पटक-पटक भोगेका छौं’ भन्दै आफू महिला कलाकारको आवाज बन्न चाहेको बताएकी छन् ।
अभिनेत्री शाहको यो पहलले नेपाली फिल्म उद्योगमा महिला कलाकारहरूले काम गर्ने क्रममा भोग्नुपरेका गोपनीयता, सुरक्षा र आधारभूत सुविधाको अभावलाई केन्द्रमा ल्याइदिएको छ । उनले यस विषयलाई मजाकको रूपमा नलिई कलाकारको गरिमा, सुरक्षा र पेशागत सम्मानसँग जोडिएको मुद्दाको रूपमा लिन सबैलाई आग्रह गरेकी छन् । चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विषयलाई कसरी सम्बोधन गर्छ, त्यो हेर्न बाँकी छ ।
















Discussion about this post